प्रधानमन्त्रीको गृहजिल्लामा २१ अति संवेदनशील मतदान स्थल

डडेल्धुराः प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्थानीय तह निर्वाचका लागि तयारी तीव्र पारिएको छ। दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको जिल्लामा वैशाख ३० गते हुन गइरहेको चुनावको तयारी तीव्र पारिएको हो।

बिहीबार डडेल्धुरामा पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका निर्वाचन अधिकारी करुणकर अवस्थीले जानकारी दिए।

९० हजार १ सय १९ मतदाता

जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका अनुसार जिल्लामा कूल ९० हजार १ सय १९ मतदाता रहेका छन्। जसमा ४४ हजार ६ सय ६४ पुरुष र ४५ हजार ४ सय ५५ जना महिला छन्।

मतदाताको संख्याअनुसार मतदान केन्द्र र मतदानस्थल पनि निर्धारण गरिएको छ। जिल्लामा ८० मतदान स्थल र १ सय २६ वटा मतदान केन्द्र तोकिएको छ।

निर्वाचन सम्पन्न गराउनका लागि ९ सय ९९ जना कर्मचारीहरू खटिने निर्वाचन अधिकारी अवस्थीले जानकारी दिएका छन्। जसमा ६ सय २१ जना कर्मचारी र ३ सय ७८ जना स्वयंसेवक कर्मचारी रहनेछन्।

उनले निर्वाचन आयोगले पठाएका निर्वाचन सामग्री तथा नमूना मतपत्रहरू सातै तहका निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्‍याइसकिएको बताए। उनले अमरगढी नगरपालिका, अजयमेरु गाउँपालिका, नवदुर्गा, भागेश्वर र गन्यापधुरा गाउँपालिका अधिकांश मतदान केन्द्रको अनुगमन गरिसकेको जानकारी दिए।

केही दिनमै बाँकी रहेका भित्रीमधेसका आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका मतदान केन्द्रहरूको पनि अनुगमन र निरीक्षण गर्ने उनको भनाइ छ।

खुल्ला चौरमा चुनाव

उनले १ सय २६ मतदान केन्द्रमध्ये दुई केन्द्र मात्रै भवनविहीन रहेको जानकारी दिए। जसमा अमरगढी नगरपालिका–४ को टुँडिखेल मदतान केन्द्र र परशुराम नगरपालिका–६ को कुणा मदतान केन्द्र रहेको छ। भवन नहुँदा दुई मदतान केन्द्रमा खुल्ला चौरमा चुनाव गर्नुपर्ने बाध्यता रहेको निर्वाचन अधिकारी अवस्थीले बताए।

२१ अति संवेदनशील मतदान स्थल

स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र विश्वसनीय गर्नका लागि व्यवस्थापकीय सबै तयारी पूरा गरिसकेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। उनले ८० मतदात स्थलमध्ये २१ अति संवेदनशील मतदान स्थल, ४० संवेदनशील र १९ सामान्य रहेको बताए।

निर्वाचन भयरहीत वातावरणमा सम्पन्न गराउनका लागि सुरक्षाको तयारी पनि पूरा भइसकेको प्रजिअ जोशीले जानकारी दिए। उनले जिल्लामा अहिलेसम्म निर्वाचन आचारसंहिता उल्लंघनका घटना नभएको पनि बताए। निर्वाचन आचारसंहिता गत चैत २५ गतेदेखि लागू भएको थियो। साता स्थानीय तह रहेको डडेल्धुरामा ५२ वटा वडा रहेका छन्।

Leave A Reply

Your email address will not be published.