‘कबड्डी ४’ को भिडियो क्लिप्स सार्वजनिक नगर्न आग्रह

काठमाडौं: शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘कबड्डी ४’ को भिडियो क्लिप्स सार्वजनिक नगर्न निर्माण टोलीले आग्रह गरेको छ। कीर्तिमानी ओपनिङसहित प्रदर्शन भइरहेको फिल्मको साना क्लिप्स सामाजिक सञ्जालमार्फत भाइरल भएपछि निर्माता, निर्देशक तथा अन्य फिल्मकर्मीले पनि त्यसो नगर्न आग्रह गरेका हुन्।

पहिलो दिन ३ करोडभन्दा माथिको कारोबार गरेको फिल्म दोस्रो दिन पनि दर्शकको उच्च चापका साथ प्रदर्शन भइरहेको छ। फिल्म हेर्न गएका दर्शकले मोबाइलबाट साना भिडियो बनाउँदै फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा हालिदिएपछि निर्माण टोलीको ध्यानाकर्षण भएको हो। यसो गर्दा प्रतिलिपि अधिकारको हनन हुने भन्दै सार्वजनिक भिडियो नहटाए र अन्य भिडियो पनि सार्वजनिक भइरहे अन्तिम विकल्प कानुनी बाटो रहेको निर्माण टोलीले जनाएको छ।

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्मले व्यावसायिक रूपमा उत्साहजनक सुरुवात गरेको छ। नेपाली फिल्मको इतिहासमै पहिलो दिन सबैभन्दा बढी कमाउने फिल्म बनेको ‘कबड्डी ४’ ले बक्स अफिसका अन्य रेकर्ड पनि तोड्ने अनुमान धेरैले गरेका छन्।

Leave A Reply

Your email address will not be published.