पालिकामा भएको आगलागीको घटना दुखद्पूर्ण : अध्यक्ष पार्की
निवर्तमान अध्यक्ष गुरुङ भन्छन्– घटना अत्यन्तै दुःखद् र निन्दनीय
डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकाको भवनमा भएको आगलागीको घटनाप्रति अध्यक्ष शेरसिंह पार्कीले दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् घटना दुखद्पूर्ण भएको जनाएका छन्।
उनले घटनाको सत्यतथ्य छानबिन गर्न सबै सरोकारवालाको ध्यान आकर्षणसमेत गराएका छन्। फेसबुकमा स्टाटस लेख्दै गाउँपालिका अध्यक्ष पार्कीले भनेका छन्, आलिताल गापामा भएको आगलागीको घटना दुखद्पूर्ण छ। सत्यतथ्य छानबिन गर्न सबै सरोकारवालाको ध्यान आकर्षण गर्न चाहन्छु।’
यस्तै, गाउँपालिकाका निवर्तमान अध्यक्ष बलबहादुर गुरुङले पनि आगलागीको घटना अत्यन्तै दुःखद् र निन्दनीय भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् गम्भीर र अराजक घटनाको सत्यतथ्य कारण पत्ता लगाई दोषी उपर कडाभन्दा कडा कारबाहीको लागि सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएका छन्।
‘आलिताल गाउँपालिकाको कार्यालयमा भएको आगलागीको घटना अत्यन्तै दुःखद र निन्दनीय छ। यस्तो गम्भीर र अराजक घटनाको सत्यतथ्य कारण पत्ता लगाई दोषी उपर कडाभन्दा कडा कारबाहीको लागि सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले फेसबुकमा लेखेका छन्, ‘साथै घटनाको सत्य तथ्य छानबिनमा आवश्यक सहयोगका लागि समेत सबैमा हार्दिक अनुरोध गर्दछु।’
शुक्रबार बिहान पालिकाको प्रशासनिक भवनमा आगलागी भएको थियो। आलिताल प्रहरी चौकिका इन्चार्ज भीमराज भट्टकाअनुसार पालिकाको प्रशासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठाभित्रका केही कागजातसमेत जलेका छन्।
बाहिर राखिएको सूचना पार्टीमासमेत आगो लगेको छ। पालिका परिसरमा क्यान्टिन सञ्चालन गर्दै आएका दानबहादुर मडैले बिहान करिब ४ बजेतिर आगलागी भएको बताए। आगलागीको घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ।