प्रधानमन्त्रीलाई गगनको सुझाव : मूल्यवृद्धि नियन्त्रण गर्न युद्धस्तरमा काम गर्नुस्

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गरेका छन्।

महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौति थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराए। ​

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले कुनै मन्त्रालयलाई यो समस्या पन्छाएर नबस्न पनि प्रधानमन्त्री देउवासँग थापाले आग्रह गरे।

महामन्त्री थापाले पेट्रोलियम पदार्थमा देखिएको समस्या समाधानका लागि तत्काल पेट्रोलियम पदार्थ ऐन ल्याउन पनि सरकारलाई सचेत गराए। उनले सरकारले १० वर्ष भित्र डिजेल, पेट्रोल र एलपी ग्यासमुक्त देश बनाउने गरी काम गर्न आजैबाट सुरु गर्नुपर्ने बताए। नभए यसले मुलुकलाई झनै मारमा पार्ने महामन्त्री थापाको भनाई थियो ।

उनले भने, ‘कोभिड र त्यसपश्चात रुस–युक्रेन युद्धका कारणले गर्दा अन्तराष्ट्रिय बजारमा जसरी मूल्य आकासिएको छ । सप्लाई जसरी अवरुद्ध भएको छ । यसले आउने दिनहरू झनै चुनौतिपूर्ण हुने संकेत गरिरहेको छ । त्यसकै आधारमा भारतले अब जस्तो निर्णय गर्छ, त्यस हाम्रो बजारलाई थप प्रभावित पार्छ । त्यसैले यसलाई हलुका रुपमा नलिन आग्रह गर्दछु । म एउटा कुनै मन्त्रालयको मात्रै कुरा होईन, यसले यति अस्तव्यस्त बनाउँछ–हाम्रो देश समाज सबैतिर ।’

महामन्त्री थापाले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने काममा पनि ध्यान दिन सरकारलाई सुझाव दिए।

Leave A Reply

Your email address will not be published.