अजयमेरुको अध्यक्षमा दोहोरिएका भट्ट भन्छन्– हिजो हिँड्यौं, अब दौडन्छौं

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा उमेशप्रसाद भट्ट ‘विकास’ दोहोरिएका छन्। उनी नेकपा माओवादी केन्द्रबाट लगातार दोस्रो पटक अध्यक्ष निर्वाचित भए।

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी एमाले पदमबहादुर पाललाई हराउँदै अध्यक्षमा विजयी भएका हुन्। भट्ट २ हजार ४६९ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वदी पालले २ हजार २९७ मत पाएका थिए।

आफूले गरेका कामका आधारमा पुनः जनताबाट अनुमोदित भएको उल्लेख गर्दै अध्यक्ष भट्टले अब काम गर्ने सवालमा कुनै समस्या नहुने बताए।

‘हामी आफूले गरेका कामका आधारमा पुनः जनताबाट अनुमोदित भएका छौँ,’ उनले भने, ‘अब काम गर्ने सवालमा कुनै समस्या हुँदैन। किनभने हामीले सिक्नुपर्ने छैन, विगतको समीक्षा गरेर अपुग कुरालाई सुधार गरे पुग्छ।’

संघीयताको नयाँ अभ्यासका कारण पहिलो पाँच वर्षको कार्यकालमा काम गर्न निकै चुनौती खप्नुपरेको भट्टले अनुभव सुनाए। अघिल्लो कार्यकालमा हिँडेको तर अब दौडन सकिने उनको टिप्पणी छ।

‘कार्य सम्पादन मूल्याङ्कनमा हाम्रो गाउँपालिका ७५३ स्थानीय तहमध्येकै उत्कृष्ट बनेको छ। त्यस कारण अब हामी दगुर्छौं भन्ने विश्वास छ,’ भट्टले भने। उनले पूर्वाधारको विकास, सेवा प्रवाह सहज बनाउने, स्थानीय उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना जस्ता कामलाई प्राथमिकता दिने बताए।

यहाँ गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसबाट बसन्ती पाल निर्वाचित भइन्। अजयमेरुमा ६ वटा वडा रहेको छन्। जसमा २–२ वडा माओवादी र कांग्रेस तथा १–१ वडा स्वतन्त्र र एमालेले जितेको छ। –अनलाइनखबरको सहयोगमा।

Leave A Reply

Your email address will not be published.