आलितालमा अस्पताल निर्माणमा ठेकेदारको ढिलासुस्ती

एकवर्षमा ५ प्रतिशतमात्रै काम

डडेल्धुराः डडेल्धुराको भित्रीमधेशमा पर्ने आलिताल गाउँपालिका–८ स्थित गोदाम बजार नजिक बन्न लागेको १० शय्याको अस्पताल निर्माणमा ढिलासुस्ती भएको छ। ठेकेदार कम्पनी राजेन्द्र निर्माण सेवा प्रालिले ढिलासुस्तीले अहिले निर्माण कार्य ठप्प रहेको हो।

संघीय सरकारको बजेटबाट अस्पताल निर्माणका लागि परशुराम नगरपालिकाका पूर्वमेयर भीमबहादुर साउँदको कम्पनी राजेन्द्र निर्माण सेवासँग गाउँपालिकाले रु. ७ करोड ३९ लाख ९७ हजार ५ सय रुपैयाँमा सम्झौता गरेको थियो।

उक्त निर्माण कम्पनीले ३९.५ प्रतिशत घटिघटाउ रकममा ठेक्का परेको थियो। निर्माण कम्पनीका तर्फबाट जयबहादुर ऐरले पालिकासँग सम्झौता गरेका थिए। २ वर्षमा काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो।

गत वर्ष असार २३ गते ठेक्का सम्झौता भएको कम्पनीले एक वर्ष पुग्नै लाग्दा पनि निर्माण कम्पनीबाट ५ प्रतिशत मात्रै काम भएको आलिताल गाउँपालिकाका इन्जिनियर आकाश जोशीले जानकारी दिए।

‘हामीले निर्माण कार्य सञ्चालनको लागि पटक–पटक मौखिक जानकारी दिँदा पनि एकदुई हप्तापछि आउँछौ भन्दै कम्पनीले टार्ने गरेको छ,’ इन्जिनियर जोशीले भने, ‘मौखिक आग्रह नमानेपछि कानुनी प्रक्रियाअनुसार गत महिनाको जेष्ठ १८ गते अस्पताल निर्माण कार्य सञ्चालन गरिदिन भनि लिखित रूपमा गाउँपालिकाबाट निर्माण कम्पनीको नाममा चिठ्ठीसमेत पठाइसकेका छौँ।’

चिठ्ठी पठाएपछि एकदुई हप्तामा आउँछौं भन्ने मौखिक जवाफ आएको तर अहिलेसम्म काम गर्न निर्माण कम्पनीका कुनै पनि प्रतिनिधि नआएको जोशीको भनाइ छ।

राजेन्द्र निर्माण सेवाका इन्जिनियर रोशन भट्टले ठक्का परेको एकवर्ष भएतापनि सरकारसँग कागजी प्रक्रियामा भएको ढिलासुस्तीका कारण निर्माणको काम ढिलो भएको दाबी गरे।

‘हामीले अस्पतालको फाउन्डेसन खन्दा पनि एउटा समस्य आयो। जसले गर्दा निरन्तर गर्ने कार्यमा केही ढिला हुन गयो। अब भने एक हप्ताभित्र निर्माण स्थलमा कामदार पठाउँछौं,’ भट्टले भने।

Leave A Reply

Your email address will not be published.