पानी नपर्दा डडेल्धुराका किसानलाई रोपाइँ गर्न समस्या

कतिपय ठाउँमा पाइपको पानीबाटै धान रोपे

  • हरिश चन्द

डडेल्धुराः डडेल्धुरामा पानी नपर्दा यहाँका किसानहरूलाई धान रोपाइँ गर्न समस्या भएको छ। आकाशे पानीको भरमा खेती गर्ने र नहर भएपनि खेतसम्म नपुगेकोले किसानहरूलाई धान रोप्न समस्या भएको हो।

नदिमा पानीको सतह कम भएको र खेतसम्म नपुगेका कारण पाइपबाट खेतमा पानी सिँचाइ गर्दा घन्टौं समय लाग्दा किसानहरूले समस्या झेल्नु परेको छ।

जिल्लामा अहिलेसम्मकै छिटो समयमा किसानहरुले धान रोपाइँ गर्न शुरु गरेका थिए। डडेल्धुरा केही ठँउका किसानहरूले आकाशे पानीको भरमा धान रोपाइँ गर्ने गरेका छन्। तर, असारको महिना लाग्दा पानी नपर्दा किसानहरूले रोपाइँ गर्न सकेका छैनन्।

असारको महिना शुरु भइसक्दा पनि पानी नपर्दा रोपाइँ गर्न समस्या भएको कृषक रमेश हमालले बताए। मुलहरू सुकेको हुँदा पानीको जोह गरेर रोपाइँ गरी राखेका र रोपेका खेतमा धान सुक्न लागको हमालले जानकारी दिए।

असार पहिलो हप्तामै डडेल्धुराका अधिकांश ठाँउहरूमा रोपाइँ सकिन्थ्यो। पानी नपर्दा अहिले सबै खेत रोप्न वाकि रहेको कृषि ज्ञन केन्द्र डडेल्धुराले जनाएको छ। पानी नपर्दा खेत सुख्खा बनेका छन् भने धान रोपाइँ हुन सकेको छैन।

हालसम्म डडेल्धुरामा १० प्रतिशत खेतमा मात्र धान रोेपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अझै ९० प्रतिशतमा रोपाइँ गर्न बाँकी रहेको कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए।

रोपेको धान पनि पानीको अभावका कारण सुक्न थालेका छन्। किसानलाई रोपाइँ ढिलो हुँदा उत्पादन घट्ने चिन्ता पनि छ। सरकारले खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था मिलाउन पर्ने स्थानीयले अपिल गरेका छन्। डडेल्धुरामा ६ हजार हेक्टर क्षेत्रमा धान खेती गरिन्छ।

Leave A Reply

Your email address will not be published.