वर्षा नहुँदा बैतडीमा हुन सकेन रोपाइँ

बैतडी: बैतडीमा समयमै वर्षा नहुँदा यो वर्षको रोपाइँ गर्न समस्या भएको छ। आकाशेपानीको भरमा धान रोप्दै आएका यहाँका किसान यो वर्ष आकाशतर्फ हेर्दै बसेका छन्। यहाँ अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ।

यो समय रोपाइँका लागि उत्तम समयको रहे पनि वर्षा नहुँदा समस्या भएको किसानहरूले बताएका छन्। आकाशेपानी नपरेका कारण जिल्लाका अधिकांश ठाउँमा धान रोप्न बाँकी हो। ब्याड राखिएको बीउ रोप्न योग्य भए पनि पानीको अभावमा खेत बाँझै रहेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका किसान मानसिंह विष्टले जानकारी दिए।

रोप्नका लागि बनाइएको ब्याड समेत पानीका मूल सुक्दै जाँदा बचाउन मुस्किल भएको छ। उनले भने, ‘हाम्रो गाउँमा सिँचाइ सुविधा छैन। आकाशेपानी पर्खिरहेका छौं। अहिलेसम्म धान रोप्न पाएका छैनौं, ब्याड सुक्दै गएको छ।’

जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ। बैतडीको हालसम्म बढीमा १५ प्रतिशतमा मात्रै रोपाइँ भएको अनुमान कृषि ज्ञानकेन्द्रको रहेको छ। बेसीक्षेत्र तथा सिँचाइ सुविधा भएका क्षेत्रहरूमा मात्रै रोपाइँ भएको कृषि ज्ञानकेन्द्र बैतडीका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दले जानकारी दिए।

रोपाइँका लागि यो उपयुक्त समय हो। वर्षा नहुँदा यो समयमा रोपाइँ गर्न सकिएको छैन। उनले भने, ‘असारभित्र धान रोप्नका लागि उपयुक्त समय हो तर यो समयमा रोपाइँ गर्न सकिएन भने उत्पादनमा कमी हुन्छ।’ रोप्नका लागि बनाइएको बेर्नालाई एक महिनासम्म रोपिसक्नुपर्छ। उनले भने, ‘बेर्नालाई २१ देखि ३० दिनभित्र रोपिसक्नुपर्छ, यो अवधिमा रोप्न सकिएन भने उत्पादन कम हुन्छ।’

यो वर्ष समयमा रोपाइँ शुरु हुन नसक्दा ब्याड सुक्दै गएको र ढिला रोप्दा रोगकिराको समस्या देखा पर्ने गर्दछ। कृषि प्रचार अधिकृत चन्दले भने, ‘समयमै रोप्न सकिएन भने पछि गएर धानमा रोगकिराले आक्रमण गर्ने, टुप्पो सुक्नेजस्ता रोग देखिन्छ र उत्पादनमा ह्रास आउँछ।’

जिल्लाको सुर्नया नदी किनार, चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायतका बेंसी क्षेत्रमा रोपाइँ भए पनि अन्य क्षेत्रमा बाँकी छ। पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालाई धानखेतीको पकेट क्षेत्र हुन्।

धानबाली बर्खेबालीमध्ये मुख्य बालीको रूपमा रहेको छ। यो बैतडीका बेंसी क्षेत्रमा बढी उत्पादन हुने गरेको छ। बैतडीमा ९ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ।

Leave A Reply

Your email address will not be published.