डडेल्धुरा: डडेल्धुरामा ‘सही नीति र सक्षम नेतृत्व’ विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला युवा शसक्तिकरण समिति डडेल्धुराको आयोजनामा जिल्ला सदरमुकाममा अन्तरक्रिया कार्यक्रम गरिएको हो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले ‘सही नीति र सक्षम नेतृत्व’ विषयक आफ्नो प्रस्तुति राखेका थिए। उनले सक्षम नेतृत्व नेतृत्वमा हुनेपर्ने गुण, व्यवहार, नीतिलगायतका विषयमा कार्यक्रमका सहभागी युवाहरू माझ प्रकाश पारेका थिए।
कार्यक्रमका प्रमुख अतिथि आलिताल गाउँपालिकाका उपाध्यक्ष मैनाकुमारी रावल बोहराले सबैले नीति अनुसार काम गर्नुपर्ने बताएकी छन्। उनले मूल नेतृत्वमा महिला आउनु जरुरी रहेको पनि औंल्याएकी छन्।
अहिले महिलाहरूलाई उपाध्यक्षमै सीमित गरिएको उनले बताइन्। महिलाहरूलाई दोस्रो दर्जाको नागरिक रूपमा हेरिने दृष्टिकोणको अन्त्य हुनुपर्नेमा उनले जोड दिइन्। उपाध्यक्ष बोहराले युवाहरूले हरेक पक्षसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताइन्।
यसका साथै उनले युवाहरूलाई नेतृत्वमा ल्याउन आवश्यक रहेको र युवाहरू कुलतमा फस्नुभन्दा पनि नेतृत्वमा आफूलाई स्थापित गर्नेमा जोड दिनुपर्ने धारणा राखिन्।
गन्यापधुरा गाउँपालिका–२ का अध्यक्ष मनोज देउवाले समाज परिवर्तनका लागि सुरुमा आफू नै परिवर्तन हुनुपर्ने बताएका छन्। नवनिर्वाचित जनप्रतिनिधिलाई युवाहरूको साथ आवश्यक रहेको पनि उनले बताए।
वडाध्यक्ष देउवाले युवाले जनप्रतिनिधिलाई समय समयमा घचघचाउनु पर्ने र निश्वार्थ रूपमा समाज विकासका क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए। अहिलेका युवा जनप्रतिनिधिले काम गरेर देखाउनुपर्ने र युवाहरूले सामाजिक सञ्जालको दुरुपयोग गर्न नहुने उनको भनाइ थियो।
जिल्ला युवा शसक्तिकरण समिति डडेल्धुराका अध्यक्ष करन साउँदले समितिलाई यहाँका युवाहरूको सहयोग आवश्यक रहेको बताए। उनले युवाहरूले नेताको पछि लाग्नुभन्दा पनि आफ्नो पढाइमा ध्यान दिनुपर्नेमा जोड दिए।
जनप्रतिनिधिहरूसँग आफ्नो समस्या र गुनासो राख्न हिच्किचाउन नहुने उनको भनाइ छ। युवाहरू विदेश पलायन हुनुभन्दा पनि आफ्नै देशमा काम गर्नुपर्ने उनले बताए।
कार्यक्रममा सहभागी युवाहरूले स्थानीय सरकारले युवाहरूका मागहरू सम्बोधन गर्न नसकेको आरोप लगाएका थिए। तर, नवनिर्वाचित जनप्रतिनिधिहरूले भने युवाहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा सातै स्थानीय तहका ४५ भन्दा बढी युवाहरूको सहभागिता रहेको थियो।