डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको लुटिएको कार भेटिएको छ। कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाइमारेबाट लुटिएको कम्प्युटर अपरेटर भण्डारीको प्रदेश ०३–०१–०२३ च ८७२१ नम्बरको कार प्रहरीले भेटाएको हो।
गोदावरी नगरपालिका–१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने सडकखण्डमा कार फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। सोमबार दिउँसो १ बजे गोदावरी नगरपालिका–४ स्थित गाइमारेमा कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीका ३७ वर्षीय भण्डारी बाधिँएको अवस्थामा भेटिएका थिए।
उनले चलाइरहेको सिल्भर रंगको सुजुकी कारलाई भीमदत्त नगरपालिकाबाटै सोही कारमा खानीडाँडासम्मको लागि लिफ्ट मागी सवार अपरिचित ३ जना पुरुषले चालकलाई फोटो खिच्ने बाहानामा सडकदेखि ५० मिटर तल लगेर कुटपिट गरी आफूले प्रयोग गरेको कपडाले हातखुट्टा र मुख बाँधेर छाडेका थिए।
भण्डारीको टाउकोमा चोट लागेको र उनीसँग रहेको मोबाइल, पर्स र नगद ५ हजार रुपैयासमेत लुटेर लगेका थिए। घाइते भण्डारीलाई अहिले उपचारका लागि पदमा अस्पतालमा ल्याइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।