डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकामा पनि १९औँ राष्ट्रिय धान दिवस मनाइएको छ। अजयमेरु गाउँपालिका कृषि विकास शाखाले धान दिवस मनाइएको हो।
‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ अजयमेरु–४ चिपुरमा धान दिवस मनाइएको कृषि विकास शाखाले जनाएको छ।
‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा आज धान दिवस मनाइने गरिन्छ। असार १५ सम्म जिल्लामा ६५ प्रतिशत रोपाईं सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ। जेठमै रोपाईं गरिसक्ने भएपनि यसपालि पानी नपर्दा रोपाईं ढिलो सुरु भएको कृषकहरूको भनाइ छ।
धान दिवसमा गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट, उपाध्यक्ष बसन्ती पाल, कृषि शाखाका प्रतिनिधि र स्थानीय कृषकको सहभागिता रहेको थियो।
विसं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा विसं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको थियो।