प्याब्सन डडेल्धुराले जित्यो ‘मैत्रीपूर्ण भलिबल प्रतियोगिता’को उपाधि

डडेल्धुराः डडेल्धुरामा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि प्याब्सन डडेल्धुराले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा डडेल्धुरा उद्योग वाणिज्य संघलाई ३–१ को सोझो सेटमा हराउँदै प्याब्सनले उपाधि उचालेको हो ।

उपाधि जितेको प्याब्सनले ट्रफी र प्रमाणपत्र पाएको छ । उद्योग वाणिज्य संघ दोस्रो भएको छ । उद्योग वाणिज्य संघले पनि ट्रफी र प्रमाणपत्र पाएको छ । जिल्ला भलिबल संघ डडेल्धुराको आयोजनामा भएको एकदिने प्रतियोगितामा नेपाल शिक्षक संघ तेस्रो भएको छ ।

बैंकर्ष क्लब डडेल्धुरालाई २–१ सेटमा हराउँदै शिक्षक संघ तेस्रो भएको हो। बैंकर्ष क्लबले सान्त्वना भएको छ। तेस्रो, सान्त्वना र सहभागिता जनाउने टिमका सबै खेलाडीहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ।

यसका साथै टिमहरूलाई मायाको चिनो र प्रशंसापत्रसमेत दिइएको भलिबल संघका महासचिव पुष्कर देउवाले जानकारी दिए। प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाएका थिए। नेपाल पत्रकार महासंघ डडेल्धुराको शाख र गैरसरकारी संस्था महासंघको टोली भने पहिलो चरणबाटै बाहिरिएको थियो।

भलिबल क्षेत्रको विकास र विस्तारका लागि मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना गरिएको भलिबल संघका अध्यक्ष राजेन्द्रबहादुर ठगुन्नाले जानकारी दिए। उनले आगामी दिनमा पनि संघले भलिबल प्रतियोगिता आयोजना गर्ने बताए।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले यस्ता किसिमका प्रतियोगिता आयोजनाले नेपालकै पुरानो खेल भलिबलको संरक्षण, विकास र विस्तारमा टेवा पुग्ने बताए। प्रतियोगिता जिल्ला सदरमुकामको महेन्द्र माविमा भएको थियो।

Leave A Reply

Your email address will not be published.