कञ्चनपुर: दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङका १८ वर्षीय सचिन बुढाथोकी बुधबार दिउँसो २ बजेतिर खाना खाएर घरको सामान किन्न भनेर घरबाट निस्किए।
दुम्लिङबासी सामान सस्तो पाउँछ भनेर किनमेलका लागि भारत जाने गर्छन्। उनीहरूलाई भारत पुग्न महाकाली नदी तर्नुपर्छ। पुल नहुँदा तुइनको सहायताले जोखिम मोलेर वारिपारि गर्नुपर्ने बाध्यता छ, दुम्लिङबासीलाई।
सचिनको घरमा घरायसी समान चिनी, नुन, तेल सकिएको थियो। त्यसकै लागि किनमेल गर्न बुधबार उनी दुम्लिङकै साथी बिरु बुढाथोकीसँग महाकालीमा तुइन पारि गए।
दुम्लिङबाट तुइनबाट महाकाली तरेपछि पारिपट्टि सानो भारतीय गर्भाधार बजार छ। त्यहाँ सचिन र बिरुले घरायसी सामान किने। त्यसपछि बुधबार करिब साढे ३ बजेतिर उनीहरू सामान लिएर घर फर्किए। उनीहरूका लागि घर पुग्न महाकाली तगारो बन्ने गर्छ।
बिरु आफू पारिपट्टि नै बसे । र, सुरुमा सचिन नदी तर्न तुइन चढे। उनी महाकालीको बीच पुगेका बेला भारततर्फ बाँधिएको तुइनको तार भाँचियो। घरायसी समान लिएर फर्किरहेका सचिन उर्लिंदो महाकालीमा हेलिए।
‘वारि रूखमा तुइनको तार बाँधिएको छ, पारिपट्टि काठमा बाँधिएको तार भाँचिएपछि सचिन महाकालीका खसे’, व्याँस गाउँपालिका–२ वडा अध्यक्ष धिरेन्द्रसिंह बुढाथोकीले भने, ‘बीचमा पुगेका बेला तार चुँडिएर नदीमा लतारिएरपछि पनि सचिन डोरी समातेर उम्किन खोज्दै थिए, तर सकेनन्।’
सचिन महाकालीमा खसेको बिरुले देखे। तर केही गर्न सकेनन्, सचिन महाकालीको भेलसँगै गए। बिरुले त्यो खबर यताउता फैलाए। समानकै लागि वारि आएका मानिस पनि त्यति बेलै भेला भए। प्रहरी, गाउँले खोजीमा जुटे तर पत्ता लागेन। सचिनको घरमा अपांग आमा बुवा, दाइ र दुई दिदी छन्। दुम्लिङकै विपन्न परिवारका उनका आमाबुवा बोल्न सक्दैनन्। बुवा ‘ख’ वर्ग र ‘ग’ वर्गको अपांग छन्।
सचिनका दुई दिदीमध्ये एक वैदेशिक रोजगारीका लागि दुबईमा छिन्, अर्की पढाइका लागि खलंगा बस्छिन्। दाइ पनि पढाइका लागि काठमाडौं गएका छन्। उनीहरू सचिन महाकालीमा खसेको दुःखद घटनाले सम्हालिन सकेका छैनन्। बुढाथोकी परिवारको बुढेसकालको सहारा तुइनसँगै चुँडिएको छ।
समान लिन गएको कलिलो छोरो उर्लिंदो महाकालीमा बेपत्ता भएपछि उनको परिवार, गाउँमा सन्नाटा छाएको छ। आमाबुवा समान लिएर छोरा आउला भन्ने आशमा बाटो कुरेर बसेका थिए तर अब उनी सकुशल भेटिने आशा मारिसकेका छन्।
‘गाउँलेहरूले तलसम्मै खोजे तर अत्तोपत्तो लागेन’, सचिनका परिवारका नातेदार समेत पर्ने वडाध्यक्ष बुढाथोकी भन्छन्, ‘पानी बढेको छ, सकुशल भेटिन गाह्रो छ।’
सचिनले यस वर्ष एसईई दिएका थिए। यार्सा टिपेर उनले घर खर्च चलाउने गर्थे। ‘परिवारको रेखदेख गर्ने उनै थिए, बुढेसकालको सहारा थिए’, खलंगामा सचिनको दिदीलाई भेटेका बुढाथोकीले भने, ‘तर यस्तो दुःखद् घटना भयो।’
सचिनले कक्षा ८ सम्म दुम्लिङकै सर्वहित आधारभूत विद्यालयमा पढेका थिए। एसईई खलंगा महेन्द्र नमुना माध्यमिक विद्यालयबाट दिएका थिए। महाकालीमा पुल नहुँदा तुइनबाट तर्दा व्याँस गाउँपालिकाका धेरै परिवारको खुसी तुइनको डोरीसँगै चुँडिएको छ।
२०७८ साउन १५ गते व्याँस गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भए।
परिवार पाल्न वैदेशिक रोजगारीका लागि हिँडेका आफ्ना अभिभावक जयसिंह महाकालीमा बगेपछि परिवार अझै शोकमा छन्। अहिले भने जयसिंह महाकालीका खसेर बेपत्ता भएको मालघाटमा पुल बनाइएको छ। त्यसैमाथिको बस्ती दुम्लिङका बासिन्दा भने अझै तुइनकै भरमा महाकाली वारिपारी गर्न बाध्य छन्।
दार्चुलामा जयसिंह बेपत्ता भएको मालघाटनजिकै सचिन पनि तुइन चुँडिएर महाकालीमा खसे। देश तुइनमुक्त भएको घोषणा गरिए पनि सीमामा बसेका दार्चुलाका बासिन्दालाई अहिले पनि तुइनले नै जोडेको छ। यो सामग्री नेपालखबरबाट साभार गरिएको हो।