आलितालमा ‘होम स्टे पर्यटन विकास’ सम्बन्धी तालिम दिइँदै

 

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकामा ‘होम स्टे पर्यटन विकास’ सम्बन्धी आधारभूत तालिम शुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत तारा गाउँ विकास समितिको आयोजनामा गाउँपालिका–८ डोलामा आइतबारदेखि चार दिने तालिम शुरु भएको हो।

लाङ्घाली सामुदायिक होम स्टे (घरबास) मा आउने पर्यटकहरूलाई व्यवस्थित सेवा दिनका लागि स्थानीयलाई होम स्टे सम्बन्धी आधारभूत तालिम दिन थालिएको तालिम संयोजक मदन गोपाल बाँनियाले बताए।

संयोजक बानियाँका अनुसार तालिम स्थानीय होम स्टे संचालन समितिका सदस्यहरू, सोही गाउँका संस्कृति सम्बर्धन समितिका सदस्यलगायतका ३० जनालाई व्यवस्थापनसम्बन्धी तालिम दिइँदैछ।

प्रशिक्षक मोहन गजुरेलले पाहुनाको स्वागत, होम स्टेको व्यवस्थापनदेखि खानाको परिकार तयार गर्नेसम्मको विषयमा प्रशिक्षण दिइने बताए। उनका अनुसार सहभागीलाई पर्यटन र यसका पक्ष, होम स्टे प्रवर्द्धन र बजारीकरण, पर्यटन प्रवर्द्धनका साधन र उपयोग, नेपालको सन्दर्भमा होम स्टे, होम स्टेसम्बन्धी कानुनी प्रवन्ध, दर्ता प्रक्रिया, पर्यटकीय पूर्वाधार र सेवालगायतका विषयमा सैद्धान्तिक ज्ञान दिइनेछ।

त्यसैगरी सफल होम स्टेका व्यावसायिक सफलताका कथा, होम स्टे सञ्चालन र व्यवस्थापन, पाहुनाको स्वागत र बिदाइ सत्कार, कोठा व्यवस्थापन, स्थानीय पर्यटकीय स्थल, सम्पदा र सस्कृतिसँग होम स्टेको सम्बन्धलगायत विषयलाई पनि सैद्धान्तिक ज्ञानको विषयमा उनले जानकारी गराइनेछ।

तालिमको उद्घाटन गर्दै मगर सस्कृति सम्बर्धन समितिका सयोजक रामचन्द्र पुनमगरले घरबास पर्यटनसँग पूर्वाधार, आर्थिक, सामाजिक र साँस्कृतिक विकासका पक्ष जोडिने भएकाले यसको प्रवर्द्धनका लागि आफूहरू लागि पर्ने बताए।

घरबास पर्यटनले महिलाहरूको आर्थिक विकास र आत्मसम्मान बढाउन सघाउने उनको भनाइ थियो। आलितालमा २०७७ सालमा आफूहरुले होम स्टेको उट्घाटन गरेता पनि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण सञ्चालनमा समस्या भएको हुँदा आफुहरू ओझेलमा परेको अवस्थामा तारा गाउँ विकास समितिले यस्तो कार्यक्रम आफूहरूको गाउँठाउँसम्म आइपुग्नु सह्रानीय रहेको समेत बताए।

लाङ्घाली घरबास समितिका अध्यक्ष वीरबहादुर थापा मगरले यहाँ ५ वटा होम स्टेको लागि घर रहेको जानकारी दिँदै एउटा घरमा दुई वटासम्म कोठा प्रयोग गर्न सकिने उनले बताए।

करिब १ सय ५० घरधुरी रहेको डोला गाउँमा आफ्नै छुट्टै मगर संस्कृति, भेषभूषा, चालचलन र रहनसहन रहेको साथै नजिकै अति सुन्दर ताल रहेकोले पनि पर्यटक आउने होम स्टे सञ्चालनमा सम्भावना रहेको उनले बताए।

पाहुनाको रूपमा आफूहरूले थुप्रै मानिसहरूलाई घरबासको व्यवस्था गरेपनि आवश्यक ज्ञानको कमि हुँदा व्यवसायिक ढंगले सञ्चालन गर्न नसकेको उनको भनाइ छ।

२०७७ सालमा औपचारिक रूपमा उट्घाटन भएको यहाँको होम स्टे कोभिडका कारण सुस्ताएको थियो। कोभिडको असर कम भएसँगै यसलाई उठाउने प्रयास थालिएको समितिका अध्यक्ष थापाले बताए। तालिम असार २९ सम्म चल्नेछ।

Leave A Reply

Your email address will not be published.