काठमाडौं ।
फ्रान्स राष्ट्रिय क्रिकेट टिमका ओपनर गुस्ताभ म्याककेओन टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । टी-२० विश्वकप युरोपियन छनोटको समूह बीको खेलमा सोमबार स्वीट्जरल्याण्ड विरुद्ध १८ वर्ष २८० दिन हुँदा शतक प्रहार गर्दै उनले उक्त कीर्तिमान बनाएका हुन् ।
फिनल्याण्डको टिकुरिला क्रिकेट मैदानमा भएको खेलमा गुस्ताभले शतक प्रहार गर्दै अफगानिस्तानका हज्रतुल्लाह जजाईको नाममा रहेको कीर्तिमान तोडे । जजाईले २० वर्ष ३३७ दिन हुँदा शतक प्रहार गरेका थिए ।
आफ्नो दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलेका गुस्ताभले ६१ बल खेल्दै ५ चौका र ९ छक्का मद्दतमा १०९ रन बनाए । आइतबार चेक रिपब्लिक विरुद्ध खेल्दै गुस्ताभले टी २० मा डेब्यु गरेका थिए । स्वीट्जरल्याण्ड विरुद्ध उनी इनिङ्सको तीन बल बाँकी छँदा रनआउट भएका थिए ।
गुस्ताभले शतकको कीर्तिमान बनाए पनि फ्रान्स भने स्वीट्जरल्याण्डसँग १ विकेटले पराजित भयो । यसअघि अफगानिस्तानका जजाईले सन् २०१९ मा आयरल्याण्डविरुद्ध ६२ बलमा उनले अविजित १६२ बनाएका थिए ।
कम उमेरमा टी-२० आईमा शतक प्रहार गर्नेमा नेपालका दीपेन्द्रसिंह ऐरी पाँचौ स्थानमा छन् । उनले गत अप्रिलमा कीर्तिपुरमा भएको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलामा मलेसिया विरुद्ध शतक प्रहार गर्दा २२ वर्ष ६८ दिनका थिए ।
टी-२० आईमा सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने पाँच खेलाडी :
गुस्ताभ म्याकेओन : १८ वर्ष २८० दिन,
हज्रतुल्लाह जजाई : २० वर्ष ३३७ दिन,
शिवकुमार पेरियालवार : २१ वर्ष १६१ दिन,
ओर्चिड तुयीसेंगे : २१ वर्ष १९० दिन,
दीपेन्द्र सिंह ऐरी : २२ वर्ष ६८ दिन ।