भारत पहिलो म्याचमै पराजित, नेपाललाई फाइदा !

काठमाडौं।

साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा बंगलादेशले लगातार दोस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार साविक विजेता भारतलाई २-१ गोल अन्तरले हराउँदै बंगलादेशले लगातार दोस्रो जित निकालेको हो ।

बंगलादेशलाई जित दिलाउन मोहमद नोभाले दुई गोल गरे । भारतका गुर्किरात सिंहले एक गोल फर्काए । यस जितसँगै बंगलादेशले २ खेलमा ६ अंक ओडेको छ ।

बंगलादेश शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो । भारतले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

५ राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपको ३ खेल सकिदा बंगलादेशको ६ अंक, नेपालको ३ अंक छ। साविक विजेता भारत हार्नु नेपालका लागि फाइदा हो। भारत, श्रीलंका र माल्दिभ्स अंकविहीन छन्। राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ।

श्रीलंकाविरुद्ध खेल्दै नेपाल

साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज बुधबार दोस्रो खेल खेल्दैछ । नेपालले दोस्रो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछ ।

नेपाल आज श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो । तर, श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन ।

किनकि नेपालविरुद्ध मैदान उत्रदा श्रीलंका पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १-० गोल अन्तरले हराएको थियो । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

नेपालले श्रीलंकापछि तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

Leave A Reply

Your email address will not be published.