नेपाल यसरी पुग्यो साफ यू-२० को फाइनल नजिक

काठमाडौं।

साफ यू-२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। बुधबार भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले श्रीलंकालाई ३-० गोलले पराजित गर्‍यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले दोस्रो हाफमा उत्कृष्ट खेल पस्केको थियो।

नेपालले ५८ मिनेटमा अग्रता लियो। कप्तान आयुष घलानले गोल गर्दै नेपाललाई अग्रता दिलाए। ६५ मिनेटमा नेपालले अग्रता दोब्बर पारेको थियो। नेपालका लागि कृतिशरत्न छुन्जुले दोस्रो गोल गरेका थिए।

यस्तै मनग्य नकर्मीले नेपालका लागि तेस्रो गोल गरेका थिए। मनग्यले ८४ मिनेटमा गोल गरेका थिए। जारी प्रतियोगितामा कृतिश र मनग्यले दोस्रो गोल गरेका हुन्। गत सोमबार माल्दिभ्सविरुद्ध नेपालले ४-० को जित निकाल्दा कृतिश र मनग्यले पनि गोल गरेका थिए।

जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपाल फाइनल नजिकसमेत पुगेको छ। यस्तै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो। श्रीलंकाको यो लगातार दोस्रो हार हो।

पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १-० गोल अन्तरले हराएको थियो। च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ।

शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन्। नेपालले अब तेस्रो खेलमा भारतसँग आइतबार खेल्नेछ। यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ।

Leave A Reply

Your email address will not be published.