काठमाडौं ।
एसियन क्रिकेट काउन्सिल (एसीसी)ले अगष्ट २७ देखि सेप्टेम्बर ११ सम्म श्रीलंकामा हुने तय भएको एसिया कप यूएईमा सार्ने निर्णय गरेको छ। श्रीलंकामा भइरहेको आर्थिक संकट र प्रदर्शनलाई मध्यनजर गर्दै एसिया कप सारिएको हो ।
प्रतियोगितास्थल सार्दा श्रीलंकाली क्रिकेट समर्थकमा आघात पुग्ने भए पनि अहिलेको परिस्थिती हेरेर तथा श्रीलंका क्रिकेट काउन्सिलसँग सल्लाह गरेर नै यो निर्णय लिइएको एसीसीका अध्यक्ष जय साहले बताएका हुन् ।
एसीसीका अध्यक्ष साहले भने, ‘खेलस्थल सार्ने निर्णय निकै कठिन कार्य थियो । श्रीलंकामा हुने भनिएको प्रतियोगिता सारेर युएई तय गर्नु श्रीलंकाको अहिलेको अर्थिक अवस्थालाई लिएर लिइएको निर्णय हो । हामीले हरसम्भव प्रयास गरेका हौं । भेन्यु मात्रै सारिएको हो, होस्टिङ अधिकार अन्य सबै श्रीलंकामा नै निहित रहन्छ ।’
खेल यूएईमा हुने भए पनि आयोजक भने श्रीलंका क्रिकेट बोर्डसँग नै रहने छ । श्रीलंका क्रिकेट बोर्डका अध्यक्ष साम्मी सिल्भाले चाहेर पनि श्रीलंकाली भूमिमा प्रतियोगिता गर्न नसकेको बताएका छन् । ‘हामी एसियाका राष्ट्रलाई स्वागत गर्न चाहन्थ्यौं तर हाम्रो अहिलेको अवस्था र प्रतियोगितामा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै हामीले एसीसीको निर्णयमा साथ दिएका हौं ।’
युएई क्रिकेट बोर्डका उपाध्यक्ष खलिद अल जरोनीले खेलस्थल उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरेको बताएका छन् । ‘हामीसँग प्रतियोगिताका लागि आवश्यक भौतिक पूर्वाधार छ । हामी एसीसीलाई सहयोग गर्न पाउँदा खुसी छौं ।’
एसिया कप यसपटक टी–२० ढाँचामा खेलाइने छ। अक्टोबरमा हुने विश्वकपको तयारीको रूपमा टी–२० ढाँचामा खेलाइने भएको हो। यूएई, कुवेत, सिंगापुर र हङकङबीचको छनोट चरण हुनेछ।
यी चार देशमध्येको विजेताले मुख्य प्रतियोगिता खेल्नेछ। विजेताले भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र बंगलादेशसँग खेल्न पाउनेछ। भारत पछिल्लो एसिया कप २०१८ को च्याम्पियन हो।