डडेल्धुराः प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्नका लागि सागर ढकाल डडेल्धुरा आइपुगेका छन्। देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं?’ भन्दै पाँच वर्षअघि प्रश्न गरेका ढकाल आगामी प्रतिनिधिसभा निर्वाचनमा उनीसँगै चुनावी प्रतिस्पर्धा गर्न यहाँ आएका हुन्।
पाँच वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर चर्चामा आएका गुल्मीका ढकालले बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आगामी प्रतिनिधिसभाको चुनाव डडेल्धुराबाट लड्ने घोषणा गरेका हुन्।
बुधबार बस चढेर उनी डडेल्धुरा सदरमुकाम खलंगा आइपुगेका थिए। पत्रकार सम्मेलनमा उनले मुलुक हाँक्न ४० वर्षमुनिका युवा आवश्यक रहेको बताए। उनले आगामी संसदीय निर्वाचनमा ‘थोरै नयाँ होइन पूरै नयाँ’ अभियानसहित तीन वटा मुद्दा लिएर अगाडि बढेको बताए।
जसमा वातावरण विकाससँगसँगै संस्कार संस्कृति, युवाहरूको प्रत्यक्ष नेतृत्व बुवाआमाबाट सल्लाह, हजुरवुवा हजुरआमाहरूलाई स–सम्मान आराम र विकास र संविधानमा उल्लेख गरिएका बुँदाहरू कार्यान्वयन छन्।
शेरबहादुर देउवालाई आराम दिन आएको उनको दाबी छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलगायतलाई आराम दिन देशभर युवा उठाउने अभियान सुरु गरेको उनको भनाइ छ।
‘शेरबहादुरहरूलाई स–सम्मान आराम दिने हो। उहाँहरूले धेरै मेहेनत गर्नु भयो। हाम्रो लागि बोल्ने बातावरण बनाइदिनु भयो,’ उनले भने, ‘बुवा पुस्ता गगनकुमार थापा, योगेश भट्टराई, घनश्याम भुसालहरू ढुङ्गा मुडा गरेर आउनु भएको हो। उहाँहरू लोकतन्त्रको लागि लड्दिनु भयो। अब सल्लाह दिने काम गर्नुहुन्छ।’
व्यवस्था पाइसकेकोले अवस्था परिवर्तन गर्ने समय आएको उनको भनाइ छ। डडेल्धुराबाट देशभर सन्देश दिन आफूले उम्मेदवारी दिएको उनले बताए। सांसद बन्नको लागि मात्रै हो भने शिक्षित सहरबाट चुनाव लड्न सक्ने उनको तर्क छ। डडेल्धुरामा मात्रै आगो बाल्न सके देशैभर फैलिन सक्ने उनको दाबी छ।
‘१६५ क्षेत्रबाटै युवा उठे। तर, म डडेल्धुराबाट हारे भने अन्य ठाउँबाट त जित्छन्, म हार्नु ठूलो कुरा होइन देशले जित्नु पर्छ,’ उनले भने, ‘म देउवालाई हराउन आएको होइन्। ४०/५० देशलाई कसरी हाक्नु पर्दछ भन्ने भिजन ल्याएर आएको हुँ।’
पाहुनालाई माया गर्ने नेपालीको संस्कार भएकोले त्यो माया पाउने उनको अपेक्षा छ। उनले डडेल्धुराको युवालाई गुल्मीबाट उठ्न समेत आग्रह गरे। देशको मुद्दा लिएर जसले जहाँबाट उठे पनि हुने उनको तर्क छ।
डडेल्धुरा प्रधानमन्त्री देउवाको चुनावी क्षेत्र हो। २०४८ यताका संसदीय चुनाव जित्दै आएका देउवा अहिले पाँचौंपटक देशको प्रधानमन्त्री छन्। ढकाल पेशाले इन्जिनियर हुन्। उनी आफैंले पनि बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएको बताएका छन्।
डडेल्धुरामा देउवालाई हराउन प्रायः असम्भव जस्तै छ। सातवटा स्थानीय तह रहेको जिल्लामा अहिले पाँच पालिकाको नेतृत्व कांग्रेसले गरिरहेको छ। डडेल्धुरामा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभामा दुई क्षेत्र छन्।