काठमाडौं।
भारतले साफ यू–२० च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार श्रीलंकालाई ४–० गोल अन्तरले हराउँदै भारतले पहिलो जित निकालेको हो।
साविक विजेता समेत रहेको भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगाईले दुई गोल गरे। हिमान्सु जान्ग्रा र गुर्किरात सिंहले एक–एक गोल थपे। आयोजक भारतले चारै गोल दोस्रो हाफमा गरेको थियो।
खेलको ५०औं मिनेटमा हिमान्सुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको ६९औं मिनेटमा पार्थिव सुन्दर गोगोईले गोल गर्दा भारत २–० ले अघि रह्यो।
७४औं मिनेटमा गुर्किरातले गोल गर्दै टोलीको अग्रता ३–० को बनाए। त्यसपछि खेलको इन्जुरी समयमा पार्थिवले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ४–० को जित दिलाए । श्रीलंकाको यो लगातार तेस्रो हार हो। श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ।
पहिलो जित हात पारेको भारतको भने फाइनल खेल्ने सम्भावना जीवित छ। भारतले अब आइतबार नेपालसँग खेल्नेछ। नेपालले भने यसअघि लगातार दुई खेलमा जित हात पारेको थियो। नेपालले पहिलो खेलमा माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकालाई पराजित गरेको थियो।
प्रतियोगिताको समूह चरणका शीर्ष दुई टिम फाइनलमा भिड्ने प्रावधानअनुसार नेपालले आइतबार भारतलाई हराए फाइनलमा स्थान बनाउनेछ।
भारतका लागि भने फाइनलमा स्थान बनाउन नेपाललाई हराउनुपर्ने बाध्यता हुनेछ। तेस्रो खेलमा एकआपसमा भिडेपछि अन्तिम खेलमा नेपालले बंगलादेश र भारतले माल्दिभ्ससँग खेल्नेछन्।
नेपाल २ म्याचमा ६ अंकसाथ शीर्ष स्थानमा छन्। बंगलादेश पनि २ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ। गोलअन्तरमा नेपाल अघि छ। प्रतियोगिताको समूह चरणबाट शीर्ष २ टोलीले फाइनल खेल्नेछन्। नेपालले अब ३१ जुलाईमा भारत र २ अगस्टमा बंगलादेशसँग खेल्नेछ। फाइनल ५ अगस्टमा हुनेछ।
अंक तालिका :