नेपाली टिमलाई आयो सिरिज खेल्ने प्रस्ताव, यस्तो छ मिति

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सिरिज खेल्नको लागि प्रस्ताव आएको छ। केन्याको पुरुष राष्ट्रिय क्रिकेट टोलीले नेपाललाई सिरिज खेल्न प्रस्ताव गरेको हो। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार केन्याले अगष्टमा सिरिज खेल्नका लागि प्रस्ताव राखेको छ।

क्यानका जनरल म्यानेजर वृतान्त खनालले केन्याले अगष्ट चौथो साताको लागि सिरिज खेल्न प्रस्ताव गरेको बताए। केन्याले सिरिजका लागि प्रस्ताव गरेपनि नेपालमा म्याच हुने सम्भावना भने कमै देखिन्छ।

केन्याले प्रस्ताव गरेको समयमा नेपालमा वर्षा हुने भएकाले यहाँ क्रिकेट सिरिज हुँदैन। यो सिरिज केन्यामै हुने सम्भावना छ। केन्याबाहेक अरु देशबाट सिरिज खेल्न प्रस्ताव नआएको जनरल म्यानेजर खनालले जानकारी दिए।

खनालका अनुसार नेपालले उक्त क्रिकेट सिरिज खेल्ने सम्भावना छ। ‘केन्याको पुरुष राष्ट्रिय क्रिकेट टोलीले हामीलाई सिरिजका लागि प्रस्ताव गरेको छ। यो विषयमा बोर्ड पनि सकरात्मक नै रहेको छ,’ उनले भने, ‘सबै कुरा मिल्यो भने हामी केन्या जान्छौं होला। केन्याबाट अगष्ट चौथो साताको प्रस्ताव आएको छ। आर्थिक विषयमा छलफल गरेर सायद हामीले सिरिज खेल्छौं।’

केन्यासँगको सिरिज टी–२० र एकदिवसिय के हुने भन्नेबारेमा टुंगो लागिसकेको छैन। नेपालले आईससी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सहभागिता जनाउँदै आइरहेको छ। केन्याले पनि क्रिकेट विश्वकप च्यालेन्ज लिग–‘बी’ खेलिरहेको छ। त्यसैले नेपाल केन्याबीच एकदिवसीय सिरिज हुने सम्भावना बढी छ।

नेपालले मैत्रीपूर्ण फुटबल म्याच खेल्ने 

नेपाली राष्ट्रिय फुटबल टिमले मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ। राष्ट्रिय फुटबल टिमले आगामी सेप्टेम्बर महिनामा मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

मैत्रीपूर्ण फुटबल म्याच खेल्ने तीन देशले प्रस्ताव गरेका छन्। नेपाललाई बंगलादेश, लाओस र ब्रुनेइले प्रस्ताव गरेको जनाइएको छ। खेल आउँदो सेप्टेम्बर महिनामा हुने भनिएपनि आधिकारिक मिति भने तय भइसकेको छैन।

आर्थिक संकटका कारण अन्य देशमा जान नसकिने हुँदा मैत्रीपूर्ण खेल नेपालमै हुने प्रवल सम्भावना रहेको छ। नेपालले गत जुनमा एएफसी एसियन कप छनोटमा सहभागिता जनाएको थियो।

कुवेतमा भएको छनोटमा नवयुग श्रेष्ठको कप्तानीमा रहेको नेपाल अंकविहीन बनेको थियो। समूह ए मा रहेको नेपाल समूहको पुछारमा रहेको थियो। छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो।

दोस्रो खेलमा आयोजक कुवेतसँग ४–१ गोल अन्तरले हारेको नेपाल अन्तिम खेलमा इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भएको थियो। यो प्रतियोगिता सिनियर १० खेलाडीले खेलेका थिएनन्।

एसियन कप छनोट प्रतियोगितापछि नेपालले कुनै पनि अन्तर्राष्ट्रिय म्याच खेलेको छैन। टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बिरामी बिदामा अहिले कतारमा रहेका छन्। एन्फामा नयाँ नेतृत्व आएयता नेपाली पुरुष र महिला टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन्।

नेपाली महिला टिमले आगामी भदौ तेस्रो साता नेपालमै हुने साफ च्याम्पियनसिप खेल्दैछ। एन्फाको नयाँ नेतृत्वले प्रशिक्षकसँगको विवादमा राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ।

टिमको व्यवस्थापनको विषयलाई लिएर अल्मुताइरीले उपकप्तान रोहित चन्दसहित १० खेलाडीलाई राष्ट्रिय टिमबाट बाहिर निकालेका थिए। उनले खेलाडीलाई समर्थन गरेको आरोपमा नियमित कप्तान किरण चेम्जोङलाईसमेत राष्ट्रिय टिमबाट बाहिर राखेका थिए।

सिनियर खेलाडी रोहितसहित सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तिमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ र अन्जन विष्टलाई टिमबाट निकालिएको थियो। अब यी खेलाडीले मैत्रीपूर्ण खेल्ने सम्भावना प्रवल छ।

Leave A Reply

Your email address will not be published.