नेपालले भारतलाई हराउनेबारे बाहिरियो यस्तो खबर

भुवनेश्वर।

साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आइतबार तेस्रो खेलमा साविक विजेता भारतको सामना गर्दैछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।

चार वर्षमा दुई पटक यस प्रतियोगिताको उपाधि जितेको नेपाल सबैभन्दा सफल राष्ट्र हो । दुई पटकको उपविजेता बंगलादेशलाई हराएर भारतले सन् २०१९ मा पहिलो उपाधि उचालेको थियो।

हेड टु हेड :

नेपालले उमेर समूहमा भारतीय टोलीसँग कहिल्यै हारेको छैन। यसअघि गोर्खाली र ब्लू टाइगर २ पटक भिडेका छन् । जसमा नेपालले दुवै पटक जितेको थियो ।

कस्तो छ भिडन्तको‌ तयारी ?

बहुप्रतिक्षित खेलको पूर्वसन्ध्यामा बोल्दै भारतका मुख्य प्रशिक्षक भेन्कटेश शान्मुगमले भने,’श्रीलंकाविरुद्ध ४-० को जितले टोलीलाई धेरै आवश्यक आत्मविश्वास प्रदान गरेको छ । तर यो त सुरुवात मात्र हो । खेल जित्नु सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । राम्रो अन्तरले जित्दा खेलाडीलाई उनीहरूले प्रतिद्वन्द्वीलाई तोड्न सक्छन् भन्ने विश्वास दिन्छ । मलाई आशा छ कि हामी नेपालसँगको खेलमा पनि यस्तै मानसिकता बोक्न सक्छौं । हाम्रो श्रीलंकाविरुद्धको प्रदर्शन राम्रो थियो । तर अब हामीले नेपाल र माल्दिभ्सविरुद्धको अर्को दुई खेलमा ध्यान केन्द्रित गर्नुपर्छ । पक्कै पनि त्यो नतिजाले केटाहरूलाई धेरै आत्मविश्वास दिएको थियो र उनीहरु बलियो मानसिकताका साथ नेपालविरूद्धको खेलमा आउनेछन्।’

प्रशिक्षक शान्मुगम भेन्कटेश नेपाल र भारतबीचको भिडन्त निकै कडा हुने पनि बताए । ‘यो खेल हाम्रो लागि धेरै महत्त्वपूर्ण छ र केटाहरूलाई थाहा छ । यो कठिन खेल हो । नेपालले आफू निकै राम्रो टिम भएको देखाएको छ । दुवै टोली एकदमै नजिक छन् । हामीले हाम्रो खेल खेल्नुपर्छ ।’

नेपालका मुख्य प्रशिक्षक मेघराज केसी भन्छन्, ‘भारतसँगको खेल हाम्रो लागि साख र प्रतिष्ठाको खेलको रुपमा समर्थकहरुले लिनु हुन्छ । तर हामी भने सकेको राम्रो खेल देखाउने हो र लक्ष्य जित नै रहनेछ। हाम्रो प्रदर्शन राम्रो हुनुपर्यो राम्रो नतिजा आउनु पर्यो ।’

‘सबै टिमलाई हामीले समान मानेका छौँ ‌। त्यही अनुसार नै हामी भारतविरुद्ध खेल्ने छौ । भारतका लागि हाम्रो विशेष तयारी भनेर केही छैन सबै टिमविरुद्ध उही नै हो । उमेर समूहको लागि दक्षिण एसियाका सबै टिम बराबर नै छौँ । केही तल माथी मात्र नै छ जस्तो लाग्छ । खास फरक छैन,’ केसीले थपे ।

कस्ता छन् दुबै टोली ?

भारत यू -२० : भारतले घरेलु फुटबलमा दिन प्रतिदिन क्रान्ति ल्याएको छ । अहिले भारतको जुन यू-२० को टोली खेलिरहेको छ यसले नियमित आइलिगमा ‘इण्डियन एरो टिम’ को नामले प्रतिस्पर्धा गरिरहेको छ । अधिकांश खेलाडीले उच्च स्तरको आइएसएलमा खेल्दै आईरहेका छन् ।

युवा फुटबल खेलाडी उत्पादन र विकास कार्यक्रमको लागि २०१० बाट सुरु गरिएको ‘एरो प्रोजेक्ट’‌ लाई २०१७ मा फेरि पुनर्जागरण गरियो । त्यसको प्रतिफल २०१८ मा अर्जेन्टिना जस्तो बलियो टोलीलाई भारतले हरायो । भारतको लक्ष्य उमेर समुहको एएफसी च्याम्पियनसिप हो । भारतले सेप्टेम्बरमा एएफसी यू-२० च्याम्पियनसिप क्वालिफायर खेल्दैछ । जहाँ उनीहरूले समूह एच मा अष्ट्रेलिया, कुवेत र आयोजक इराकसँग खेल्नुपर्ने छ।

यस्ता धेरै तथ्यहरु भारतीय उमेर समुहको टोलीसँग जोडिएका छन् । जारी यू-२० साफमा भारतले पहिलो खेलमा हार बेहोरेको थियो उसलाई पराजित गर्ने बंगलादेशको टोली पनि बिएफएफको एलिट एकेडेमीबाट उत्पादित टोली हो ।

आइ-लिगको पछिल्लो दुई सिजनमा भारतले युवा खेलाडीलाई विकास गरेको छ । बलिया प्रतिद्वन्द्वी विरुद्ध खेलेर उनीहरूले लामो यात्रा तय गरेका छन् । अहिले त्यही युवाहरू ले भारतको जर्सी लगाउने अवसर पाएका छन् ।

नेपाल यू-२० : साफ यू–२० च्याम्पियनसिपमा नेपालले अहिलेसम्म राम्रो प्रदर्शन गर्दै माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको छ । नेपाली टोली प्रशिक्षक मेघराज केसीको नेतृत्वमा उत्कृष्ट लयमा छ । माल्दिभ्स र श्रीलङ्काविरुद्ध गोलको वर्षा गरेर आएको छ । तर अहिलेसम्म आफुले भने एउटा पनि गोल खाएको छैन । जसले नेपाललाई ठुलो आत्मविश्वास दिएको छ । तर भारत विरुद्धको खेल फरक हुनेछ । यो सत्य हो ।

यो टोलीको निर्माण गर्दा देखिनै आम अपेक्षा बढेको छ ‌। यो मेघराज केसी माथिको सबैको विश्वास हो जुन टोली उनले बनाउने छन् त्यो उत्कृष्ट नै हुनेछ ‌। साफको अहिलेसम्मको यात्राबाट यस टोलीले देखाइसकेको छ, किन उनिहरु अपेक्षाका लायक छन् । कुनै ठुलो अनुभव बिना नै पहिलोपटक साफ जस्तो प्रतियोगिता खेल्दा युवा खेलाडीहरु अलिकति पनि ‘नर्भस’ नहुनुले देखाउँछ प्रशिक्षण टोलीले यो नयाँ टोलीलाई तयार पार्न निकै मेहनत गरेको छ ।

के छ अंक तालिकाको समिकरण ?

अंक तालिकामा नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यदि भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ । भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । भारत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । फाइनलमा स्थान बनाउन भारतलाई नेपालविरुद्धको खेल जित्नुपर्ने दवाव छ । ५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपाल र भारतको खेल स्पोर्ट्सवार्क्ज युट्युब च्यानल र इलेभेन स्पोर्ट्स प्लेटफर्ममा प्रत्यक्ष प्रसारण हुनेछ । –खेलपाटीबाट साभार।

Leave A Reply

Your email address will not be published.