नेपालमाथि भारतको ‘कीर्तिमानी’ जित, भयो गोलको वर्षा

काठमाडौं।

साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले साविक विजेता भारतविरुद्ध लज्जास्पद हार व्यहोरेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा नेपाल भारतसँग ८-० गोल अन्तरले पराजित भएको हो।

भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे। टाइसन सिंह, हिमान्सु जान्ग्रा, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले एक–एक गोल गरे।

यो भारतको कीर्तिमान जित हो। जारी प्रतियोगितामा सबैभन्दा फराकिलो जित निकाल्दै कीर्तिमान बनाएको हो। अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ।

यस्तै, भारतको भुवनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा माल्दिभ्स र श्रीलंकाले बराबरी खेलेका छन्। आइतबार कालिङ्गा रंगशालामा भएको खेलमा दुवै टिमले एक-एक गोलको बराबरी खेलेका हुन्।

बराबरीसँगै माल्दिभ्स पनि समूह चरणबाटै बाहिरिएको छ। समूहका शीर्ष दुई टिम फाइनलमा पुग्ने प्रावधानअनुसार अन्तिम खेलअघि माल्दिभ्सले एक अंक मात्र जोड्न सक्यो। माल्दिभ्स यसअघि पहिलो खेलमा नेपाल र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो।

अब माल्दिभ्सले अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ। यता लगातार तीन खेलमा पराजित भएर यसअघि बाहिरिएको श्रीलंका भने अन्तिम खेलमा बराबरी खेल्न सफल भयो। माल्दिभ्स बाहिरिएको अवस्थामा फाइनल तथा उपाधि होडमा बंगलादेश, नेपाल र भारत बाँकी छन्।

Leave A Reply

Your email address will not be published.