काठमाडौं ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रफी डेस च्याम्पियन्सको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा नान्टेसलाई ४-० गोल अन्तरले हराउँदै पीएसजीले उपाधि जितेको हो ।
पीएसजीलाई जित दिलाउन नेयमारले दुई गोल गरे ।खेलको २२ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । खेलको ५७ औं मिनेटमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई ३-० को अग्रता दिलाए ।
खेलको ८१ औं मिनेटमा जिन चार्लेसले रातो कार्ड पाएपछि नान्टेस १० खेलाडीमा समेटियो । त्यसपछि खेलको ८२ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ४-० को जित दिलाए ।
जर्मनीलाई हराउँदै इंग्ल्यान्ड च्याम्पियन
आयोजक इंग्ल्यान्डले महिला युरोकप २०२२ को उपाधि जितेको छ । वेम्बलीमा आइतबार राति भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो ।
इंग्ल्यान्डलाई जित दिलाउन इला टोनी र च्लोए केलीले एक एक गोल गरिन् । जर्मनीका लिना मागुलले एक गोल फर्काईन् ।
रोमान्चक बनेको खेलको ६२ औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएकी थिइन् । तर,७९ औं मिनेटमा लिनाले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा ल्याईन् ।
त्यसपछि निर्धारित ९० मिनेटमा समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा इंग्ल्यान्डकी केली नायक बनिन् ।केलीले खेलको ११० औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाईन् । यससँगै इंग्ल्यान्डले पहिलो पटक महिला युरोकपको उपाधि जितेको छ ।