काठमाडौं।
साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले अहिले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी खेलमा नेपालले बंगलादेशविरुद्ध १-१ गोलको बराबरी गरेको छ ।
खेलको ६८ औं मिनेटमा निरन्जन मल्लले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याएका हुन् । यस घि खेलको ६३ औं मिनेटमा नोभाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए ।
बंगलादेशविरुद्धको यस खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा समेत कुर्नु पर्नेछ ।
तर, अंक तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन । किनकि बंगलादेश जारी प्रतियोगितामा अपराजित रहने एक्लो टोली हो ।
बंगलादेश ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल ३ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । हेड टु हेडमा अघि रहेको भारत ३ खेलमै ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । माल्दिभ्स र श्रीलंका १-१ अंक जोडेर प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
आज बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गरेको खण्डमा नेपालले फाइनलमा स्थान पक्का गर्नेछ । भारतसँग ८-० को हार व्यहोरेपछि नेपाललाई बंगलादेशविरुद्ध फराकिलो जितको आश्यकता परेको हो ।
बंगलादेशसँग बराबरी भएको खण्डमा भने नेपालले भारत माल्दिभ्सबीचको खेल कुर्नु पर्नेछ । यदि भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपाल फाइनल पुग्नेछ ।
यस्तै माल्दिभ्स र भारतबीच बराबरी भएकामा नेपालले बंगलादेशमाथि १ गोलको जितले पुग्नेछ । ५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।