काठमाडौं।
साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम खेलमा बराबरी खेलेको छ। भारतको भुवनेश्वरमा मंगलबार भएको खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेसँगै नेपालको फाइनलमा पुग्ने सम्भावना कठिन बनेको छ। पाँच टिमबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिताको समूह चरणका शीर्ष दुई टिम फाइनलमा पुग्ने प्रावधान छ।
जसमा चार खेलबाट १० अंक जोडेको बंगलादेश फाइनलमा पुगेको छ। अब भारत र नेपाल मध्ये एक टिम फाइनलमा पुग्नेछ। नेपालको चार खेलबाट ७ अंक छ। अन्तिम खेलअघि भारतको ६ अंक छ। समूहको अन्तिम खेलमा आयोजक भारत र माल्दिभ्सबीच आज साँझ सवा सात बजे खेल हुँदैछ। सो खेलमा भारत पराजित भए मात्र नेपाल फाइलनमा पुग्छ।
भारतले बराबरी वा जित निकाले नेपाल फाइलन पुग्नबाट बञ्चित हुनेछ। यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४-० र दोस्रो खेलमा श्रीलंकालाई ३-० गोलले पराजित गरेको थियो। तेस्रो खेलमा भने भारतसँग नेपाल ८-० गोलले पराजित भएको थियो।
मंगलबारको खेलमा बंगलादेशले पहिले अग्रता लिएको थियो। बंगलादेशका लागि ६३ मिनेटमा पियास अहमद नोभाले गोल गरेका थिए। नेपालले ६८ मिनेटमा बराबरी गोल फर्कायो। नेपालका लागि निरन्जन मल्लले गोल गरेका थिए। उनले डिबक्स बाहिरबाट हानेको प्रहारले जाली चुमेको थियो।
त्यसअघि दुवै टिम मैदानमा १०-१० खेलाडीमा सीमित बनेका थिए। दोस्रो हाफ सुरू भएको तेस्रो मिनेटमा खेलमा तनाव उत्पन्न भएको छ। ४८औं मिनेटमा बंगलादेशका तनविरले सहायक रेफ्रीको निर्णयमा असन्तुष्टि जनाएका थिए। त्यसपछि उनले नेपालका कप्तान आयुष घनाललाई ठेलेपछि दुवै टिमका खेलाडी आक्रोशित बने।
दुवै टिमका खेलाडी एकअर्काविरुद्ध झगडामा उत्रिएका थिए। झगडामा नेपालका बेन्चमा रहेका खेलाडी पनि उत्रिएका थिए। झगडाका कारण नेपालका कृतिश रत्न छुन्जु र बंगलादेशका एक खेलाडी मैदानमै लडेका थिए।
त्यसपछि रेफ्रीले बंगलादेशका साहिदुल इस्लामलाई रातो कार्ड देखाए। नेपालका दीपेश गुरुङले पनि रातो कार्ड पाए भने झगडामा उत्रिएका बेन्चमा रहेका नेपालका खेलाडी रोहित सुब्बालाई पनि रेफ्रीले रातो कार्ड दिए।