नेपाल पुगेलगत्तै केसीले गरे भारतसँगको खेलबारे नयाँ खुलासा

काठमाडौं।

भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएका छन् । नेपाली टोली बिहीबार अपरान्ह स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङ लगायत एन्फाका पदाधिकारीले स्वगत गरेका थिए ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको थियो । नेपाल तेस्रो स्थानमा रहेको थियो । फाइनलमा भारत र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । नेपालले प्रतियोगितामा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । बंगलादेशसँग बराबरी खेल्दा भारतसँग फराकिलो हार व्यहोरेको थियो ।

यसैक्रममा प्रशिक्षक मेघराज केसीले साफ यू–२० च्याम्पियनसिपमा भारतले नेपाली फुटबलको स्तर देखाईदिएको बताएका छन्। लिग चरणमा भारतसँग फराकिलो हार ब्यहोरेको नेपाली टिम प्रतियोगिताबाट बाहिरिदै बिहीबार नेपाल फर्किएको छ ।

काठमाडौंका त्रिभुवन बिमानस्थलमा पत्रकारसँग प्रतिक्रिया दिदै प्रशिक्षक केसीले नेपाली फुटबलले भारतको स्तरमा पुग्न धेरै मेहनत गर्नुपर्ने बताए । ‘हामी भारतलाई पनि हराउन गएको हो । तर भारतले हाम्रो लेभल देखाईदियो ।’ केसीले भने, ‘आजको दिनमा हामीले धेरैनै मेहनत गर्नुपर्छ । खेलाडीको क्षमता, मेहनतको हिसाबले हामी उनीहरु भन्दा कम छैनौं । तर उनीहरुको स्तरमा हामी निकै कम देखिन थालेका छौं ।’

माल्दिभ्स र श्रीलंकालाई हराउँदै नेपालले प्रतियोगितामा शानदार सुरुवात गरेको थियो । तर तेस्रो खेलमा भारतसँग ८–० को फराकिलो हार ब्यहोर्यो । अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाली टिम प्रतियोगिताको फाइनल पुग्न बञ्चित रह्यो ।

भारतले दक्षिण एसियाली फुटबलमा अन्य देशलाई गन्न छाडेको मेघराजको टिप्पणी थियो । उनले भारतीय टिमले साफका प्रतियोगितामा कमजोर टिम पठाउने गरेको टिप्पणी गर्दै साफ फुटबलमा राम्रो नतिजा निकाल्नका लागि सोच्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

‘भारतले साफमा आफ्नो लेभलमा गन्न छाडिसक्यौ । साफ खेल्दा जुन टिम पठाउँछ, त्यो रियल टिम पठाउँदैन । नेपालसँग खेल्दा उसले अघिल्लो खेलमा भन्दा ८ खेलाडी परिवर्तन गरेको थियो । उनीहरुसँग पर्याप्त खेलाडी छन् । आईएसएल खेलेका खेलाडी थिए ।’ केसीले भने, ‘भारतले चाँही गन्न छाडिसक्यो । हामी साफमा केही रहन्छौं भने फुटबललाई माया गर्नेले के के गर्ने भनेर सोच्ने समय आएको छ ।’

केसीले फुटबल प्रत्येक दिन उन्नत भैरहको बताउँदै हरेक दिन फुटबलमा नविन काम गर्न आवश्यक रहेको बताए । ‘हामी सक्षमनै थियौं । गल्ती भयो । हाम्रो मेहनत पुगेको छैन । तर हामी कमजोर टिम हैनौं ।’ उनले भने, ‘आजको फुटबल आधुनिक फुटबल हो । फुटबल हरेक दिन उन्नत भईरहेको छ । सबै अपग्रेट हुन आवश्यक छ ।’

उनले नेपाली फुटबललाई अन्तराष्ट्रिय स्तरमा फर्काउन कोशिश गरेपनि आफु सफल नभएको बताए । उनले नेपाली फुटबलमा अझै मेहनत र लगानी नपुगेको देखिएको उल्लेख गरे । टिममा क्षमता भएपनि आफुहरुले त्यसलाई प्रमाणित गर्न नसकेको केसीले स्विकार गरे ।

Leave A Reply

Your email address will not be published.