नेपालले केन्यासँग सिरिज खेल्ने पक्का, हुनेछन् यति धेरै म्याच

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपालले केन्यासँग उसैको मैदानमा ५ खेलको सिरिज खेल्ने भएको हो । यस्तै नेपालले अभ्यास खेलको रुपमा ५० ओभरको तीन खेल खेल्नेछ ।

सिरिजका लागि नेपाली टोली अगस्टको अन्तिम साता केन्याको भ्रमणमा निस्कने छ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले नेपालले ५ खेलको सिरिज खेल्ने पक्का भएको बताए ।

मिति भने तय भएको छैन। ‘नेपालले ५ टी-ट्वान्टी अन्तराष्ट्रिय र तीन ५० ओभरको अभ्यास खेल्ने पक्का भएको छ । यसको मिति भने केही दिनमा नै सार्वजनिक गरिने छ,’ चन्दले भने, ‘टोली अगस्ट १७/१८ तारिख तिर जान्छ होला ।’

केन्याको क्रिकेट संघले नेपाललाई सिरिजको निमन्त्रणा दिएको थियो । जसअन्तर्गत नेपाली टोली केन्या जान लागेको हो । एक समय एसोसिएट क्रिकेटको सशक्त टोली केन्याको स्तर अहिले भने केही खस्किएको छ।

नेपालले आईससी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सहभागिता जनाउँदै आइरहेको छ। केन्याले पनि क्रिकेट विश्वकप च्यालेन्ज लिग–‘बी’ खेलिरहेको छ।

नेपालले मैत्रीपूर्ण फुटबल म्याच खेल्ने 

नेपाली राष्ट्रिय फुटबल टिमले मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ। राष्ट्रिय फुटबल टिमले आगामी सेप्टेम्बर महिनामा मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

मैत्रीपूर्ण फुटबल म्याच खेल्ने तीन देशले प्रस्ताव गरेका छन्। नेपाललाई बंगलादेश, लाओस र ब्रुनेइले प्रस्ताव गरेको जनाइएको छ। खेल आउँदो सेप्टेम्बर महिनामा हुने भनिएपनि आधिकारिक मिति भने तय भइसकेको छैन।

आर्थिक संकटका कारण अन्य देशमा जान नसकिने हुँदा मैत्रीपूर्ण खेल नेपालमै हुने प्रवल सम्भावना रहेको छ। नेपालले गत जुनमा एएफसी एसियन कप छनोटमा सहभागिता जनाएको थियो।

कुवेतमा भएको छनोटमा नवयुग श्रेष्ठको कप्तानीमा रहेको नेपाल अंकविहीन बनेको थियो। समूह ए मा रहेको नेपाल समूहको पुछारमा रहेको थियो। छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो।

दोस्रो खेलमा आयोजक कुवेतसँग ४–१ गोल अन्तरले हारेको नेपाल अन्तिम खेलमा इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भएको थियो। यो प्रतियोगिता सिनियर १० खेलाडीले खेलेका थिएनन्।

एसियन कप छनोट प्रतियोगितापछि नेपालले कुनै पनि अन्तर्राष्ट्रिय म्याच खेलेको छैन। टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बिरामी बिदामा अहिले कतारमा रहेका छन्। एन्फामा नयाँ नेतृत्व आएयता नेपाली पुरुष र महिला टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन्।

नेपाली महिला टिमले आगामी भदौ तेस्रो साता नेपालमै हुने साफ च्याम्पियनसिप खेल्दैछ। एन्फाको नयाँ नेतृत्वले प्रशिक्षकसँगको विवादमा राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ।

टिमको व्यवस्थापनको विषयलाई लिएर अल्मुताइरीले उपकप्तान रोहित चन्दसहित १० खेलाडीलाई राष्ट्रिय टिमबाट बाहिर निकालेका थिए। उनले खेलाडीलाई समर्थन गरेको आरोपमा नियमित कप्तान किरण चेम्जोङलाईसमेत राष्ट्रिय टिमबाट बाहिर राखेका थिए।

सिनियर खेलाडी रोहितसहित सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तिमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ र अन्जन विष्टलाई टिमबाट निकालिएको थियो। अब यी खेलाडीले मैत्रीपूर्ण खेल्ने सम्भावना प्रवल छ।

Leave A Reply

Your email address will not be published.