टोटेनहमको शानदार जित, भयो गोलको वर्षा

काठमाडौं ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा टोटेनहमले सहज जित निकालेको छ। शनिबार भएको खेलमा साउथह्याम्पटनलाई ४-१ गोल अन्तरले हराउँदै टोटेनहमले सिजनको सुखद सुरुआत गरेको हो।

टोटेनहमका लागि रायन सेसेग्नोन, एरिक डियर र डेजन कुलुसेभास्कीले एक एक गोल गरे । साउथह्याम्पटनका जेम्स वार्डले एक गोल फर्काउदा मोहमद सालिसुले एक आत्मघाती गोल गरे ।

जितसँगै टोटेनहमले पहिलो खेलमै ३ अंक जोडेको छ । साउथह्याम्पटनले भने हारबाट सिजनको सुरुआत गरेको छ । यस्तै लिड्स युनाईटेडले पनि सुखद सुरुआत गरेको छ । लिड्सले उल्भ्सलाई २-१ गोल अन्तरले हरायो ।

न्युकासल युनाईटेडले नवप्रवेशी क्लब नटिङघम फरेस्टलाई २-० ले हराएर सुखद सुरुआत गरेको छ । त्यस्तै बर्नेमाउथले एस्टन भिल्लालाई २-० ले हराएर सुखद सुरुआत गरेको छ ।

फुलहमसँग लिभरपुलको बराबरी

इंग्लिस प्रिमियर लिग फुटबलको आफ्नो पहिलो खेलमा लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा लिभरपुलले नवप्रवेशी क्लब फुलहमसँग २-२ गोलको बराबरी खेलेको हो ।

लिभरपुलका लागि डार्विन नुनेज र मोहमद सलाहले एक एक गोल गरे । फुलहमका एलेक्सान्डर मिट्रोभिचले दुबै गोल गरे। रोमान्चक खेलको ३२ औं मिनेटमा मिट्रोभिचले गोल गर्दै फुलहमलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ६४ औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए । उनले प्रिमियर लिगको डेब्यु खेलमै गोल गरेका हुन् । खेलको ७२ औं मिनेटमा मिट्रोभिचले पेनाल्टीबाट गोल गर्दै फुलहमलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८० औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-२ गोलको बराबरीमा ल्याए । यससँगै लिभरपुलले एक अंकबाट सिजनको सुरुआत गरेको छ । फुलहमले पनि पहिलो खेलमा एक अंक जोडेको छ ।

Leave A Reply

Your email address will not be published.