काठमाडौं ।
घरेलु टोली वेष्ट इण्डिजसँगको पाँच खेलको टी–२० सिरिज भारतले जितेको छ। शनिबार राति भएको चौथो खेलमा घरेलु टोलीलाई ५९ रनले हराउँदै भारतले एक खेल अगावै सिरिज ३–१ ले जितेको हो।
भारतले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान निकोलस पूरन, रोभम्यान पावेलले २४/२४, शिमरोन हेटमायरले १९, कायल मेयर्सले १४, जेसन होल्डर र ब्रेण्डन किंगले १३/१३ रन बनाए।
बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बटुल्न सकेनन्। भारतका लागि अर्शदीप सिंहले ३, आवेश खान, रवि विश्नोई र अक्षर पटेलले समान २–२ विकेट लिए । त्यसअघि अमेरिकाको लाउडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्षेत्रीय पार्क स्टेडियम टर्फ मैदानमा टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो।
उसका लागि ऋषभ पन्तले ४४, कप्तान रोहित शर्माले ३३, सञ्जु सामसनले अविजित ३०, सूर्यकुमार यादवले २४, दीपक हूडाले २१ र अक्षर पटेलले नटआउट २० रन बनाए।
वेष्ट इण्डिजका लागि अल्जारी जोसेफ, ओबेद म्याक्योले २–२ र अकिल हुसेनले १ विकेट लिए। यो जितसँगै पाँच खेलको सिरिजमा भारतले ३–१ को अग्रता लिएको छ। दुई टोलीबीचको पाँचौं तथा अन्तिम टी–२० म्याच आइतबार हुनेछ।