काठमाडौं।
नेपाली राष्ट्रिय क्रिकेट टिमको हाल कुनै अन्तर्राष्ट्रिय म्याच छैन। त्यसैले खेलाडीहरू अहिले आफ्नै घरमा छन्। नेपाली राष्ट्रिय क्रिकेट टिम मुख्य प्रशिक्षक विहीन हुँदा पनि खेलाडीहरूले सामूहिक प्रशिक्षण गरिरहेका छैनन।
तर, नेपालले आगामी महिना केन्यासँग सिरिज खेल्ने पक्का भइसकेको छ। अबको केही दिनमै नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक नियुक्त गरेर खेलाडीलाई प्रशिक्षणमा बोलाउन सम्भावना छ। नेपालले केन्यासँग ५ खेलको टी–२० र ३ म्याचको एकदिवसीय सिरिज खेल्दैछ।
सिरिजका लागि नेपाली टोली अगस्टको अन्तिम साता केन्याको भ्रमणमा निस्कने छ। नेपालले आईससी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सहभागिता जनाउँदै आइरहेको छ। केन्याले पनि क्रिकेट विश्वकप च्यालेन्ज लिग–‘बी’ खेलिरहेको छ।
यसपालि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले वेष्ट इण्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता पनि खेल्दै छन्। ६० बलको प्रतियोगितामा सन्दीप जमैका तल्लावासबाट खेल्न लागेका हुन्। प्रतियोगितामा ३० बलको एक इनिङ हुनेछ। यस्तै, ६ विकेटको मात्र खेल हुनेछ।
जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि अनुबन्ध गरेपनि त्यसअघि यो प्रतियोगिता हुन लागेको कारण सन्दीप पनि टिममा परे। प्रतियोगितामा पुरूषतर्फ ६ टोलीको सहभागिता रहनेछ। जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० लिगका लागि अनुबन्ध गरेको थियो।
सीपीएल हुनुअघि ‘द सिक्स्टी’ प्रतियोगिता हुनेछ। प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म सञ्चालन हुनेछ। सीपीएल क्रिकेट अगस्ट ३० देखि सुरु हुँदैछ। दशौं संस्करणको यो प्रतियोगिता आउँदो सेप्टेम्बर ३० सम्म चल्नेछ।
अहिले केही फुर्दसमा रहेका कप्तान सन्दीप सामाजिक सञ्जालतिर पनि सक्रिय देखिन्छ। पछिल्ला केही दिन यतादेखि सन्दीपले दिनमा एकदुई स्टाटस र फोटो सामाजिक सञ्जाल फेसबुक ट्वीटरतिर पोस्ट्याउने गरेका छन्।
आइतबार दिउँसोतिर पनि सन्दीपले नेपाली समर्थकका बारेमा एक स्टाटस लेखेका छन्। जसमा उनले नेपाली समर्थकको प्रसंशा गरेका छन्। उनले नेपाल क्रिकेटका भावुक र माया गर्ने फ्यान रहेको उल्लेख गरेको छन्। समर्थकहरूको भावना र उनीहरुको क्रिकेट खेलप्रतिको माया अतुलनीय रहेको पनि औंल्याएका छन्।
‘नेपाल क्रिकेटमा भएको सबैभन्दा राम्रो कुरा भनेको नेपाल क्रिकेटका भावुक र माया गर्ने फ्यान हो,’ उनले दुई वटा तस्वी राख्दै लेखेका छन्, ‘उनीहरूको भावना र उनीहरूको यो खेलप्रतिको माया अतुलनीय छ। सबैलाई धन्यवाद।’
सन्दीपको उक्त स्टाटस नेपाली समर्थकले पराएका छन्। फ्यानहरूले ‘अझैं अगाडि बढ्नू, सधैं तपाईंप्रति गर्व छ, नेपाली क्रिकेटको मेरुदण्ड बलर’ भनेर कमेन्ट गरेका छन्। केही समयअघि अमेरिकाका बलर अलि खानले नेपाली समर्थक विश्वकै खराब भनेका थिए। जसको पछि कप्तान सन्दीपले कडा शब्दमा जवाफ फर्काएका थिए।