काठमाडौं ।
साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुआत गरेको छ । आइतबार राति वेस्ट ह्याम युनाईटेडलाई २-० गोलले हराउँदै सिटीले नयाँ सिजनको सुखद सुरुआत गरेको हो ।
वेस्ट ह्यामको मैदानमा सिटीलाई जित दिलाउन एर्लिङ हालाण्डले दुबै गोल गरे । खेलको ३६ औं मिनेटमा हालाण्डले पेनाल्टीबाट गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । प्रिमियर लिगको डेब्यु खेलमै उनले सिटीका लागि गोल गरेका हुन् ।
त्यसपछि खेलको ६५ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-० को जित दिलाए । यस जितसँगै सिटीले पहिलो खेलमै ३ अंक प्राप्त गरेको छ । वेस्ट ह्यामले भने हारबाट सिजनको सुरुआत गरेको छ ।
बराबरीमा रोकियो लेस्टर
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आफ्नो पहिलो खेलमा लेस्टर सिटीले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा लेस्टरले ब्रेन्टफोर्डसँग २-२ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा दुई गोलको अग्रता जोगाउन नसक्दा लेस्टरले बराबरी खेल्नु परेको हो । खेलको ३३ औं मिनेटमा टिमोथीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । खेलको ४६ औं मिनेटमा किरनन हलले गोल गर्दै लेस्टरलाई २-० को अग्रता दिलाए ।
तर, खेलको ६२ औं मिनेटमा ब्रेन्टफोर्डका इभान टोनीले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८६ औं मिनेटमा जोस डासिल्भाले गोल गर्दै ब्रेन्टफोर्डलाई २-२ गोलको बराबरीमा ल्याउदै हारबाट जोगयाए । यस बराबरीसँगै लेस्टर र ब्रेन्टफोर्डले पहिलो खेलमा १-१ अंक पाएको छ ।