काठमाडौं।
युएईमा जारी टी-० एसिया कप सुपर फोरमा भारतमाथि श्रीलंकाले ६ विकेटको रोमान्चक जित निकालेको छ।
दुबईमा भारतले दिएको १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। श्रीलंकालाई जितको लागि अन्तिम ६ बलमा श्रीलंकालाई ७ रन चाहिएको थियो ।
अर्शदीप सिंहले पहिलो बल भानुका राजपक्षेलाई एक रन दिए। दोस्रो बलमा एक रन दिए। तेस्रो बलमा दुई रन लिएपछि तीन बलमा तीन रन चाहियो। उनले चौथो बलमा एक रन खर्चिए। पाँचौं बल शनकाले मिस गरेपनि ऋषभ पन्तले स्टम्प ताक्नेक्रममा मिस गरेपछि श्रीलंकाले दुई रन लिँदै रोमाञ्चक जित निकालेको हो।
श्रीलंकाको जितमा ओपनर कुशल मेन्डिसले ३७ बलमा ४ चौका र ३ छक्कासहित ५७ रनको योगदान दिए। अर्का ओपनर पाथुम निसंकाले ३७ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५२ रन बनाए। पहिलो विकेटका लागि ओपनर पाथुम निसंका र कुशल मेन्डिसले ११.१ ओभरमा ९७ रनको साझेदारी गरेका थिए।
कप्तान दासुन शनका १८ बलमा ४ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे। भानुका राजपक्षे १७ बलमा २ छक्काको मद्दतमा नटआउट २५ रन बनाए। भारतका स्पिनर युजभेन्द्र चहलले ४ ओभरमा ३४ रन दिदै सर्वाधिक ३ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनायो।
उसका लागि कप्तान रोहित शर्माले शानदार ब्याटिङ गरे। उनले २१ बलमा ५ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ७२ रनको योगदान दिए। यस्तै, सूर्यकुमार यादवले ३४, हार्दिक पाण्ड्या र ऋषभ पन्तले १७–१७, रविचन्द्रन आश्विनले अविजित १५ रन बनाउँदा उपकप्तान केएल राहुल ६, दिपक हुड्डा ३ तथा विराट कोहली र भुवनेश्वर कुमार शून्य रनमा आउट भए। अर्शदीप सिंह १ रनमा नटआउट फर्किए।
श्रीलंकाका लागि दिलशान मदुशंकाले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २४ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिए। उनले विराट, पन्त र दिपकको विकेट लिएका हुन्। यस्तै, चमिका करुणारत्ने र कप्तान दासुन शानकाले २–२ तथा महेश थेक्षानाले १ विकेट हात पारे।
यस जितसँगै श्रीलंका फाइनल नजिक पुगेको छ। भारतको फाइनल पुग्ने सम्भावना अंक गणीतिय झिनो आशा मात्र बाँकी छ। भारत पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । भारतले अन्तिम खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ। बुधबार अफगानिस्तान र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।
पाकिस्तानले शुक्रबार श्रीलंकासँग अन्तिम खेल खेल्नेछ। भारत फाइनल पुग्न पाकिस्तानले बाँकी दुबै खेल हार्नुपर्ने हुन्छ। अन्यथा एक खेल जितेको खण्डमा पनि भारत बाहिरिनेछ ।
भारतले अफगानिस्तानमाथि फराकिलो जित हात पार्नुपर्छ। यदि पाकिस्तानले दुबै खेल हारे र भारतले अफगानिस्तानलाई हराए तीन टोलीको समान २-२ अंक हुनेछ। नेटरनरेटमा माथि रहँदै भारत फाइनल खेल्न सक्ने झिनो सम्भावना देखिन्छ।