साम्बाले बनाइन् रोनाल्डो, मेस्सीले बनाउन नसकेको दुर्लभ कीर्तिमान

काठमाडौं।

छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उदघाटन खेलमा नेपालले भुटानमाथि ४–० को फराकिलो जित हात पार्‍यो। नेपाललाई जिताउन सावित्राले दुवै हाफमा गोल गरिन्। यस्तै अनिता बस्नेतले दोस्रो हाफमा दुई गोल थपिन् । राष्ट्रिय टिममा पुनरागमन गरेकी सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरेपछि नेपालले १–० को अग्रता बनाएको थियो।

यसै खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेकी फरवार्ड अमिसा कार्कीको पासमा सावित्राले १२ मिनेटमा गोल गरेकी हुन्। उनले झण्डै तीन वर्षपछि राष्ट्रिय टिमबाट खेल्दै गोल पनि गरिन्। गतवर्ष घुँडाको चोटका कारण सावित्राले घरेलु मैदानमा बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेल र उज्वेकिस्तानमा भएको एएफसी एसियन कप छनोटको दुई खेल गुमाएकी थिइन्।

ठूलो वर्षाका कारण मैदानमा पानी जम्दा पहिलो हाफमा नेपालले थप गोल गर्न सकेन। दशौं मिनेटमा हिरा कसमारी भुजेलले बक्स बाहिरबाट हानेको प्रहार पोष्टमा लागेर फर्किएको थियो। साफमा भुटान तुलानात्मक रुपमा कमजोर टिम भए पनि १२ दिनअघि नै नेपाल आएर तयारी गरेको थियो । भुटानले पनि पहिलो हाफमा गोल गर्नै एउटा अवसर गुमायो।

३६ मिनेटमा पुनम जर्घामगरले लुज गरेको बलमा भुटानकी कप्तान पेमा छोडेन तामाङको क्रसमा सुनिता राईले पोष्टमा प्रहार गर्न सकिनन् र बल बाहिरियो। पानी रोकिएपछि सुरु भएको दोस्रो हाफको सुरुवातदेखि नै नेपालले भुटानमाथि दबाब बनायो। दोस्रो हाफको दोस्रो मिनेटमा सुरु लिम्बुको पासमा दिपा शाहीले बक्स बाहिरबाट हानेको प्रहार पोष्टमाथिबाट बाहिरियो।

५७ मिनेटमा सावित्रा भण्डारीले गोल गर्ने अवसर गुमाइन्। अनिता बस्नेतको क्रसमा बक्स भित्र रहेकी सावित्राले बललाई पोष्टको दिशा दिन सकिनन्। ६८ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्। रेखा पौडेलले दिएको पासमा सावित्राले बल अगाडी बढाउँदै भुटानी गोलकिपरसँग वान भर्सेस वानमा गोल गरेकी हुन्।

७३ औं मिनेटमा अनिता बस्नेतले तीन खेलाडीलाई छलाउँदै बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै नेपालको अग्रता ३–० बनाइन्। ८४ मिनेटमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो गोल गरिन्। अनिता केसीको क्रस भुटानी किपरलाई छोएर फर्केको बलमा अनिता बस्नेतले गोल गरेकी हुन्। नेपालले समूहको अन्तिम खेल आगामी सोमबार श्रीलंकाविरुद्ध खेल्नेछ।

सावित्रालाई पहिलो गोलका लागि पास दिने अमिसासँगै दिपा शाहीले पनि यसै खेलबाट राष्ट्रिय टिममा डेब्यू गरिन्। यस्तै ७४ मिनेटमा समिक्षा घिमिरेले हिरा कुमारी भुजेलको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यू गरेकी हुन्।

‘साम्बा’ले बनाइन् दुर्लभ कीर्तिमान

महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले दुर्लभ कीर्तिमान बनाएकी छिन्। उनले भुटानविरुद्ध २ गोल गर्दै दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाएकी हुन्। भुटानसँग उनको ४०औँ अन्तिर्राष्ट्रिय म्याच हो। र, उनले यस खेलमार्फत् ४० अन्तिर्राष्ट्रिय गोल पूरा गरिन्। उनी समान खेल (४०) मा समान गोल (४०) गर्ने फुटबलर बनिन्।

यो कीर्तिमान विश्वका चर्चित पुरुष फुटबलरले समेत बनाउन सकेका छैनन्। अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा गोल गर्ने खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो हुन्। उनले १ सय ८९ म्याचमा १ सय १७ गोल गरेका छन्। यस सूचीको दोस्रो स्थानमा रहेका इरानका अलि डेइले पनि १ सय ४८ म्याचमा १०९ गोल गरेका छन्। तेस्रो स्थानमा रहेका मलेसिया मुख्तार दहरीले पनि १ सय ४२ खेलमा ८९ गोल गरेका छन्।

अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा गोल गर्ने खेलाडीको चौथो नम्बरमा अर्जेन्टिनाका लियोनल मेस्सी छन्। मेस्सीले १ सय ६२ म्याचमा ८६ गोल गरेका छन्। तर, नेपाली ‘गोल मेशिन’का रूपमा परिचित ‘साम्बा’ले समान खेलमा समान गोल गर्ने मामलामा यी सबै विश्व स्टारलाई उछिनेकी छन्। नेपाली महिला फुटबल टोलीबाट इतिहासकै सर्वाधिक गोलकर्तासमेत रहेकी साबित्रा दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड हुन्।

Leave A Reply

Your email address will not be published.