नेपाल पुगे लगत्तै रोहितले दिए यस्तो प्रतिक्रिया

काठमाडौं ।

केन्या विरुद्ध टी-२० अन्तर्राष्ट्रिय र एकदिवसीय शृंखला खेलेर नेपाली क्रिकेट टोली आज (बुधबार) बिहान स्वदेश फर्किएको छ । टोलीलाई नेपाल क्रिकेट संघ क्यानका क्रिकेट म्यानेजर विनोद दास लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे । नेपालले केन्यासँग पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला ३-२ ले जितेको थियो भने तीन खेलको एकदिवसीय शृंखला क्लिन स्वीप गरेको थियो ।

नयाँ प्रशिक्षक मनोज प्रभाकरले पनि यही टुरबाट नेपालको प्रशिक्षकको रुपमा डेब्यु गरे । पूर्व कप्तान ज्ञानेन्द्र मल्ले पुनरागमनमा राम्रो प्रदर्शन गरे भने नयाँ खेलाडी अर्जुन साउदले राष्ट्रिय टिममा डेब्यु गर्दै आफ्नो छाप छाडे ।

टी-२० शृंखलापछि नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमिय लिग खेल्न वेष्टइन्डिज गएपछि एकदिवसीयमा रोहितकुमार पौडेलले नेपालको कप्तानी गरेका थिए । स्वदेश फर्किएपछि मिडियासँग कुरा गर्दै रोहितले केन्या भ्रमण समग्रमा राम्रो भएको बताए । नेपाली खेलाडीले अझै पनि ब्याटिङमा काम गरिरहेको र टिममा सुधार गर्नुपर्ने कुराहरु पनि रहेको उनले बताए ।

सिनियर टिमको कप्तानी गर्नुले जिम्मेवारी बढेको उनले बताए । ‘मेरो लागि रेस्पोन्सबिलिटी बढेको छ । यसलाई अवसरको रुपमा लिएको छु,’ रोहितले भने। उनले अनुभवी खेलाडी ज्ञानेन्द्र र डेब्युटान्ट अर्जनुले राम्रो खेलेको बताए ।

नेपाल फर्किएका खेलाडी अब नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष क्रिकेट खेलका लागि आ–आफ्नो टोलीसँग जोडिने छन्। नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ। पुरुष क्रिकेट भने भदौ २३ गतेबाट संचालन हुनेछ।

भारत अझैं पनि यसरी प्रवेश गर्न सक्छ एसिया कपको फाइनल

टी-२० एसिया कप सुपर फोरमा श्रीलंकाले भारतलाई पराजित गरेको छ । यूएईमा मंगलबार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटको रोमाञ्चक जित निकालेको हो । लगातार दुई जितसँगै श्रीलंका फाइनल नजिक पुगेको छ । सुपर फोरमा यसअघि श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको थियो ।

भारतलाई भने यो हारले फाइनल यात्रा कठिन बनेको छ । श्रीलंकालाई जितका लागि भारतले १७४ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । अन्तिम १२ बलमा २१ रन चाहिएको अवस्थामा पनि श्रीलंकाले जित निकाल्न सफल भयो । अन्तिम ६ बलमा श्रीलंकालाई ७ रन आवश्यक थियो भने तीन बलमा तीन रन नै चाहिएको थियो ।

यो अवस्थामा चौथो बलमा श्रीलंकाले एक रन लियो । अब २ बलमा २ रन आवश्यक रह्यो । पाँचौ बलमा श्रीलंकाले २ रन लियो र एक बल बाँकी हुँदै रोमाञ्जित जित निकाल्यो । श्रीलंकाको जितका लागि कुशल मेन्डिसले ५७ र पाथुम निसंका ५२ रनको अर्धसतकीय पारि खेलेका थिए । यस्तै, दासुन शनका ३३, भानुका राजपक्ष २५ रनको योगदान गरे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनायो।

उसका लागि कप्तान रोहित शर्माले शानदार ब्याटिङ गरे। उनले २१ बलमा ५ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ७२ रनको योगदान दिए। यस्तै, सूर्यकुमार यादवले ३४, हार्दिक पाण्ड्या र ऋषभ पन्तले १७–१७, रविचन्द्रन आश्विनले अविजित १५ रन बनाउँदा उपकप्तान केएल राहुल ६, दिपक हुड्डा ३ तथा विराट कोहली र भुवनेश्वर कुमार शून्य रनमा आउट भए। अर्शदीप सिंह १ रनमा नटआउट फर्किए।

श्रीलंकाका लागि दिलशान मदुशंकाले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २४ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिए। उनले विराट, पन्त र दिपकको विकेट लिएका हुन्। यस्तै, चमिका करुणारत्ने र कप्तान दासुन शानकाले २–२ तथा महेश थेक्षानाले १ विकेट हात पारे।

यस जितसँगै श्रीलंका फाइनल नजिक पुगेको छ। भारतको फाइनल यात्रा कठिन बन्दै गएको छ। भारत सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो। अब भारतले अन्तिम खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ। बुधबार अफगानिस्तान र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

पाकिस्तानले शुक्रबार श्रीलंकासँग अन्तिम खेल खेल्नेछ। भारत फाइनल पुग्न पाकिस्तानले बाँकी दुबै खेल हार्नुपर्ने हुन्छ। अन्यथा एक खेल जितेको खण्डमा पनि भारत प्रतियोगिताबाट आउट हुनेछ। भारतले अफगानिस्तानविरुद्ध पनि ठूलो जित निकाल्नुपर्ने हुन्छ। यदि पाकिस्तानले दुबै खेल हारे र भारतले अफगानिस्तानलाई हराए तीन टोलीको समान २–२ अंक हुनेछ। नेटरनरेटमा माथि रहँदै भारत फाइनल पुग्ने झिनो सम्भावना कायमै छ। तर, त्यसका लागि भारतले चाहेअनुसारको नजिता आउनुपर्नेछ।

Leave A Reply

Your email address will not be published.