अफगानिस्तान बलियो लक्ष्य दिन चुक्यो, जद्रानले बनाए सर्वाधिक रन

काठमाडौं।

यूएईमा जारी एसिया कप क्रिकेटको सुपर चारअन्तर्गत अफगानिस्तानले पाकिस्तानलाई १ सय ३० रनको लक्ष्य दिएको छ। शारजाह क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको मौका पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनायो।

उसका लागि इब्राहिम जद्रानले ३५, हजरतुल्लाह जाजईले २१, राशिद खानले नटआउट १८, रहमानउल्लाह गुरबाजले १७, करिम जनातले १५, नजिबुल्लाह जद्रान १० रनमा आउट हुँदा अजमातुल्लाह ओमरजाई १० रनमा अविजित रहे। कप्तान मोहम्मद नाबी भने शून्य रनमा बोल्ड भए।

पाकिस्तानका लागि हरिस रउफले २ तथा मोहम्मद हसनैन, नसीम शाह, मोहम्मद नवाज र शादाब खानले १–१ विकेट लिए। दुई पटकको च्याम्पियन पाकिस्तान यस खेलमा पनि जित हात पार्दै फाइनलको सम्भावना बलियो बनाउन चाहन्छ। सुपर चारको पहिलो खेलमा पाकिस्तानले भारतलाई पराजित गरेको थियो।

पहिलो पटकको च्याम्पियन बन्ने लक्ष्यमा रहेको अफगानिस्तान सुपर चारमा पहिलो जित निकाल्दै फाइनलको सम्भावना जीवित राख्न लक्ष्यमा छ। पाकिस्तान र अफगानिस्तानबीच भएका दुई टी–२० खेलेकामा दुवै खेल पाकिस्तानले जितेको छ।

पछिल्लो पटक टी–२० विश्वकप २०२१ मा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो। जसमा पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले हराएको थियो। प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाएका हुन्।

समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट अफगानिस्तान र श्रीलंका सुपर चारमा पुगेका छन्। सुपर चारमा चारै टोलीले एकअर्काविरुद्ध खेल्ने छन्। त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ।

Leave A Reply

Your email address will not be published.