नेपाल साफको सेमिफाइनलमा, निकाल्यो रोमाञ्चक जित

काठमाडौं।

नेपालले श्रीलंकामा जारी साफ यू-१७ पुरुष फुटबलमा विजयी सुरुआत गरेको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा बुधबार राति भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो।

यस जितसँगै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको छ। नेपालको जितसँगै भारत पनि अन्तिम चारमा पुगेको छ । लगातार दुई खेल हारेको भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि भुटान भारतसँग ३-० ले पराजित भएको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले १ खेलमा ३ अंक जोडेको छ। नेपाल समूहको दोस्रो स्थानमा रहेको छ । भुटान २ खेलमा अंक विहीन रहेर पुछारमा रहेको छ ।

भारत ३ अंक जोडेर शीर्ष स्थानमा छ । अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भारतसँग शुक्रबार खेल्नेछ । यस खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ ।

बंगलादेशले नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा माल्दिभ्सलाई ३-० गोल अन्तरले हराउँदै बंगलादेशले सुखद सुरुआत गरेको हो ।

बंगलादेशलाई जित दिलाउन कप्तान सबिना खातुनले दुई गोल गरिन् । यस्तै मसुरा प्रभिनले एक गोल गरिन् । बंगलादेशले तीनै गोल पहिलो हाफमा गरेको थियो । खेलको ३२ औं मिनेटमा खातुनले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

खेलको ३४ औं मिनेटमा मसुराले गोल गर्दा बंगलादेशले २-० को अग्रता बनायो । त्यसपछि खेलको ४० औं मिनेटमा खातुनले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३-० को ज्जित दिलाईन् । यस जितसँगै समूह ‘ए’ को बंगलादेशले पहिलो खेलमै ३ अंक जोडेको छ ।

माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । यसै समूहको खेलमा भारतले पाकिस्तानलाई ३-० ले नै हराएको थियो । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । यस्तै समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।

Leave A Reply

Your email address will not be published.