पाकिस्तान एसिया कपको फाइनलमा, निकाल्यो रोमाञ्चक जित

काठमाडौं।

पाकिस्तान यूएईमा जारी एसिया कप टी-२० प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। सुपर फोरअन्तर्गत बुधबार राति अफगानिस्तानलाई एक विकेटले हराउँदै पाकिस्तान फाइनलमा पुगेको छ। अफगानिस्तानले दिएको १ सय ३० रनको लक्ष्य पाकिस्तानले १९ ओभर २ बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो।

अन्तिम ६ बलमा पाकिस्तानलाई ११ रन चाहिएको थियो। २०औं ओभरको पहिलो बलमा नमीम शाहले छक्का प्रहार गरे। त्यसपछि पाकिस्तानलाई अन्तिम पाँच बलमा पाँच रन चाहियो। शाहले दोस्रो बलमा पनि उत्कृष्ट  छक्का हान्दै पाकिस्तानलाई फाइनलमा पुर्‍याएका हुन्।

पाकिस्तानका लागि सादाब खानले ३६ रन तथा इफदिकार अहमदले ३० रन बनाए। मोहम्मद रिजवानले २० तथा आसिफ अलिले १६ रन बनाए।

नशिम शाहले अविजित १४ रन बनाए। फकर जमामले ५ तथा मोहम्मद नवाजले ४ रन बनाए। अफगानस्तानका लागि फैजल फारुकि र फरिक अहमदले समान ३/३ तथा रशिद खानले २ विकेट लिए।

त्यसअघि शारजाह क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको मौका पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनायो।

उसका लागि इब्राहिम जद्रानले ३५, हजरतुल्लाह जाजईले २१, राशिद खानले नटआउट १८, रहमानउल्लाह गुरबाजले १७, करिम जनातले १५, नजिबुल्लाह जद्रान १० रनमा आउट हुँदा अजमातुल्लाह ओमरजाई १० रनमा अविजित रहे। कप्तान मोहम्मद नाबी भने शून्य रनमा बोल्ड भए।

पाकिस्तानका लागि हरिस रउफले २ तथा मोहम्मद हसनैन, नसीम शाह, मोहम्मद नवाज र शादाब खानले १–१ विकेट लिए। पाकिस्तानको जितसँगै श्रीलंका पनि फाइनलमा पुगेको छ। भरत र अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएका छन्।

Leave A Reply

Your email address will not be published.