टीयूमा सागर पुनले गरे उत्कृष्ट ब्याटिङ, टिमले दियो बलियो लक्ष्य

काठमाडौं।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेट प्रतियोगितामा एनआरएनए एकेडेमीले सुदूरपश्चिम प्रदेशलाई ७५ रनको बलियो लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एनआरएनएले निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ७४ रन बनायो।

एनआरएनएका लागि अलराउन्डर सागर पुनले उत्कृष्ट ब्याटिङ गरे। उनले १९ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४६ रनमा अविजित रहे। सागरले २०१८ पछि पहिलोपटक घरेलु क्रिकेट खेलेका हुन्। उनी चोटका कारण लामो समय मैदान बाहिर रहेका थिए।

कप्तान सुनाम गौतमले ११ बलमा ३ चौका र १ छक्काको मद्दतमा २४ रनको योगदान दिए। सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले समान २–२ विकेट लिए। वर्षाको कारण ढिला खेल सुरु हुने भएपछि ६ ओभरमा घटाइएको हो।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द लगायतले गरे।

बिहीबार तय भएको गण्डकी प्रदेश र मधेश प्रदेशबीचको खेल रद्द भएको छ । वर्षाको कारण मैदान भिजेको कारण गण्डकी र मधेशबीचको खेल रद्द भएको हो । खेल टस समेत नभई रद्द भएको हो।

प्रतियोगिताअन्तर्गत नै बिहीबार थप दुई खेल हुँदैछ । टियु मैदानमा बिहीबार हुने दोस्रो खेलमा बागमती प्रदेश र प्रदेश १ बीच खेल हुनेछ।   मुलपानी मैदानमा हुने दोस्रो खेलमा लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश खेल्दैछन्।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना हुन लागेको हो । प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

सुदूरपश्चिमको प्लेइङ ११ : राजु रिजाल (कप्तान), खड्क बोहरा, नारायण जोशी, हेमन्त धामी, शेर मल्ल, बसन्त कार्की, अनिल थापा, लोकेन्द्र चन्द्र, भोजराज भट्ट, बसन्त खत्री र नरेन्द्र साउद ।

एनआरएनएको प्लेइङ ११ : सुनाम गौतम, जाम बहादुर गुरुङ, दीनेश खरेल, आशिष पोखरेल, सुनिल श्रेष्ठ, सागर पुन, बासु गिरी, दीपक केसी, रासिम कंडेल र दिवास गिरी, दीनेश श्रेष्ठ (विकेटकिपर)

Leave A Reply

Your email address will not be published.