काठमाडौं।
श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्दैछ। कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
आज नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेको छ । तर, भारतलाई हराउँन नेपाललाई सहज भने छैन । भारत पनि नेपाललाई हराएर समूह विजेता बन्न चाहन्छ ।
समूह ‘बी’ मा रहेको नेपाल र भारत यस अघि नै सेमिफाइनल पुगिसकेको छ । ३ अंक जोडेको नेपाल समूहको दोस्रो र भारत शीर्ष स्थानमा रहेको छ ।
नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले हराएको थियो । भारतले पनि भुटानलाई ३-० ले हराएको थियो । दुबै खेलमा हार व्यहोरेको भुटान बाहिरिसकेको छ ।
यू-१७ अन्तर्गत नै शुक्रबार हुने दोस्रो खेलमा श्रीलंका र माल्दिभ्स भिड्ने छन् । प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुईले सेमिफाइनलमा स्थान बनाउने छन् ।
यस्तै महिला साफ च्याम्पियनसिप फुटबलमा आज शुक्रबार एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ । खेल बेलुका ५:३० बजे सुरु हुनेछ।
समूह ‘बी’ मा रहेको श्रीलंकाको यो पहिलो खेल हो । भुटानलाई हराएर श्रीलंका सुखद सुरुआतको योजनामा हुनेछ ।
भुटानको यो दोस्रो खेल हो । भुटान पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा भुटानलाई नेपालले ४-० ले हराएको थियो । सेमिफाइनलको स्थान जीवित राख्न भुटानलाई जित्नैपर्ने दबाब छ ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।
साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।
यस्तै समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।