काठमाडौं।
नेपाल क्रिकेट संघ (क्यान)ले अष्ट्रेलियन पूर्व क्रिकेटर ब्रेट लीलाई महत्वपूर्ण जिम्मेवारी दिएको छ। क्यानले लीलाइ नेपाल टी–२० लिगको मेन्टर नियुक्त गरेको छ। क्यानले शुक्रबार लीलाई मेन्टर नियुक्त गरेको हो। सोल्टी होटलमा कार्यक्रम गरी क्यानले लीलाई सार्वजनिक गरेको छ।
आगामी असोज दोस्रो सातादेखि हुने पहिलो संस्करणको नेपाल टी–२० लिगमा छ टिमबीच प्रतिस्पर्धा हुँदैछ। लिगमा पोखरा एभेन्जर्स, फारवेस्टर्न युनाइटेड, क्यापिटल्स, लुम्बिनी अल स्टार्स, विराटनगर सुपरकिंग्स र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
क्यानले प्रतियोगिताको आयोजना अधिकार भारतको सेभेन थ्री स्पोर्ट्सको जिम्मा दिएको छ। आगामी असोज ८ गतेदेखि कात्तिक ५ सम्म नेपाल टी–२० लिग काठमाडौंमा हुँदैछ। जसमा नेपाली खेलाडीले तीन श्रेणीका आधारमा तलब पाउनेछन्।
पहिलो श्रेणीका खेलाडीलाई १५ लाख, दोस्रोलाई १० र तेस्रोलाई ५ लाख दिने क्यानको भनाइ छ। लिगका लागि खेलाडी छनोट गर्न क्यानले अनलाइन दर्ता खुलाएको थियो। जहाँ ड्राफ्टमार्फत खेलाडी छनोट हुनेछ। एक हजार बढी खेलाडीले अनलाइन दर्ता गराएको क्यानको भनाइ छ।
यस्तै, पूर्वबलर ब्रेट ली नेपालको क्रिकेट क्रेज आफूलाई मन परेको बताएका छन्। शुक्रबार आयोजित पत्रकार भेटघाटमा बोल्दै ब्रेट लीले नेपालको क्रिकेट क्रेज आफूलाई मन परेको बताएका हुन् । फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगका ब्राण्ड एम्बेस्डरको रुपमा ब्रेट ली नेपाल आएका हुन्। ‘मलाई लिगको मेन्टर बनेको खुशी लागेको छ। नेपालको क्रिकेट क्रेज मन पर्यो,’ ब्रेट लीले भने, ‘यहाँको पाहुना सत्कार मन पर्यो। यो मेरो नेपालको छोटो यात्रा हो।’
एनआरएनए र एपीएफबीचको खेल नतिजाविहीन
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेट अन्तर्गत एनआरएनए एकेडेमी र एपीएफ क्लबबीचको खेल नतिजा विहीन सकिएको छ ।टियु क्रिकेट मैदानमा शुक्रबार परेको भारी वर्षाको कारण खेल नतिजा विहीन सकिएको हो ।
वर्षाले खेल रोकिनु अघि एनआरएनएले ब्याटिङ गरिरहेको थियो । १९ ओभरमा झारिएको खेलमा एनआरएनएले १३ ओभर ३ बलमा २ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । एनआरएनएका कप्तान सुनाम गौतमले ४५ रन बनाएर अविजित थिए । पृथु बास्कोटा २६ रनमा अविजित थिए ।
यस खेल नतिजा विहीन सकिएसँगै दुबै टोलीले एक एक अंक बाडेका छन् । समूह ‘बी’ एनआरएनएले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा एनआरएनएले सुदुरपश्चिमलाई हराएको थियो ।
एनआरएनए समूहको शीर्ष स्थानमा रहेको छ । एपीएफले १ खेलमा १ अंक जोडेको छ । वर्षकै कारण मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र मधेश प्रदेशबीचको खेल रद्द भएको थियो । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ ।
तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो । प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।