साफमा भुटानको ‘ऐतिहासिक’ जित, गर्‍यो गोलको वर्षा

काठमाडौं ।

भुटानले नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा श्रीलंकालाई ५-० गोल अन्तरले हराउँदै भुटानले पहिलो जित निकालेको हो । महिला साफ इतिहासमा भुटानको यो पहिलो ऐतिहासिक जित समेत हो ।

भुटानले यसअघि महिला साफमा कुनैपनि जित निकालेको थिएन । श्रीलंकाविरुद्ध पहिलो हाफमा एक गोल गरेको भुटानले दोस्रो हाफमा चार गोल थपेको थियो । भुटानको जितमा डेखी लाजोमले दुई गोल गरिन्। न्याम्गेल डेमा, छिरिङ लाडेन र छिरिङ याङदेनले एक-एक गोल गरिन् ।

यस जितसँगै समूह ‘बी’ मा रहेको भुटानले २ खेलमा ३ अंक जोडेको छ। जितपछि भुटानले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।पहिलो खेलमा भुटानले नेपालसँग ४-० गोलको हार व्यहोरेको थियो ।

श्रीलंकाले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । अब श्रीलंकाले नेपालसँग सोमबार खेल्नेछ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

भारतलाई हराउँदै नेपाल समूह विजेता, रच्यो इतिहास

नेपालले श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा भारतलाई पराजित गरेको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराएको हो ।

यस जितसँगै साफ यू–१७ मा भारतविरुद्ध नेपालले इतिहास रचेको छ। नेपालले पहिलो पटकको साफ यू–१७ कै संस्करणमा भारतलाई पराजित गर्दै इतिहास रच्न सफल भएको हो। यसअघि यो प्रातियोगिता यू–१६ र १५ को नामबाट सञ्चालन हुँदै आएको थियो। तर, यसपालिदेखि भने प्रतियोगिता साफ यू–१७ को नामबाट सुरु भएको हो।

नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक एक गोल गरे । नेपालले सुरुआती एक गोलको अग्रता उल्टाएर भारतलाई हराएको हो । खेलको २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ४५ औं मिनेटमा सरोज दर्लामीले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याए । दोस्रो हाफमा नेपालले दुई गोल गर्यो । खेलको ४९ औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ६८ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाए । यस जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारत २ खेलमा ३ अंक जोडेर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले हराएको थियो । भारतले पनि भुटानलाई ३-० ले हराएको थियो । दुबै खेलमा हार व्यहोरेको भुटान बाहिरिसकेको छ । प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुईले सेमिफाइनलमा स्थान बनाउने छन् ।

Leave A Reply

Your email address will not be published.