यी गोर्खाली युवाले भारतीय टिमलाई यसरी हाने ‘धोबी’

काठमाडौं।

श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिपको समूह चरणमा नेपालले भारतलाई पराजित गरेको छ। शुक्रबार भएको खेलमा नेपालले भारतमाथि ३-१ गोलको जित निकाल्यो। नेपालले सुरुमा गोल खाए पनि त्यसपछि तीन गोल गरेको थियो।

जितसँगै नेपाल समूह ‘बी’ को विजेता बन्यो। नेपाल र भारतले भुटानलाई पराजित गर्दै यसअघि नै सेमिफाइनलमा स्थान बनाएका थिए। नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोलले हराउँदा भारतले ३-० गोलको जित निकालेको थियो।

नेपालसँग पराजित भएको भारत भने समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्यो। शुक्रबार भारतले नेपालविरुद्ध पहिले अग्रता लियो। भारतका लागि खेलको १७ मिनेटमा ड्यानी लैस्रमले गोल गरेका थिए। नेपालका लागि सरोज दर्लामीले ४५ मिनेटमा बराबरी गोल फर्काए।

उनले डिबक्स बाहिरबाट हानेको प्रहारले जाली चुमेको थियो। ४९ मिनेटमा उनेश बुढाथोकीले नेपालका लागि दोस्रो गोल गरे। यस्तै खेलको ६८ मिनेटमा सुवास बमले उत्कृष्ट फिनिसिङ गर्दा नेपालले अग्रता ३-१ मा पुर्‍यायो।

दुबै खेलमा हार व्यहोरेको भुटान बाहिरिसकेको छ। प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष दुईले सेमिफाइनलमा स्थान बनाउने छन्।

अब नेपालले सेमिफाइनलमा सोमबार श्रीलंका वा माल्दिभ्समध्ये एक टिमसँग खेल्नेछ। जित हात पारे नेपालले बुधबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यता समूहमा उपविजेता बनेको भारतले भने सेमिफाइनलमा सोमबार नै समूह ‘ए’ को विजेता बंगलादेशसँग खेल्नेछ।

साफमा भुटानको ‘ऐतिहासिक’ जित

भुटानले नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा श्रीलंकालाई ५-० गोल अन्तरले हराउँदै भुटानले पहिलो जित निकालेको हो । महिला साफ इतिहासमा भुटानको यो पहिलो ऐतिहासिक जित समेत हो ।

भुटानले यसअघि महिला साफमा कुनैपनि जित निकालेको थिएन । श्रीलंकाविरुद्ध पहिलो हाफमा एक गोल गरेको भुटानले दोस्रो हाफमा चार गोल थपेको थियो । भुटानको जितमा डेखी लाजोमले दुई गोल गरिन्। न्याम्गेल डेमा, छिरिङ लाडेन र छिरिङ याङदेनले एक-एक गोल गरिन् ।

यस जितसँगै समूह ‘बी’ मा रहेको भुटानले २ खेलमा ३ अंक जोडेको छ। जितपछि भुटानले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।पहिलो खेलमा भुटानले नेपालसँग ४-० गोलको हार व्यहोरेको थियो ।

श्रीलंकाले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । अब श्रीलंकाले नेपालसँग सोमबार खेल्नेछ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

Leave A Reply

Your email address will not be published.