काठमाडौं।
नेपाली यू-२० राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू-२० एसियन कपमा छनोट हुने आशा राखेको बताएका छन् । एएफसी यू-२० एसियन कप छनोट अघि शुक्रबार प्रि-म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक केसीले छनोट हुने आशा राखेको बताएका हुन् ।
‘कोभिडको कारणले हाम्रो फुटबल गतिविधिमा प्रभावित गर्यो । एएफसी कप छनोटका लागि यो पर्याप्त हैन । तर, हामीसँग विकल्प थिएन । त्यसैले हामीले ३ महिना मात्र तयारी गर्यो । आशा गरौँ हामी छनोट हुन्छौ,’ प्रशिक्षक केसीले भने ।
बहराइनमा आयोजना हुने छनोट भोलि शनिबारबाट सुरु हुँदैछ । नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगालादेश छन्। प्रशिक्षक केसीले छनोटका लागि तयारी राम्रो रहेको समेत बताए ।
‘हामीले तीन महिनाबाट तयारी गरिरहेका छौँ । यसबीचमा हामीले साफ यू-२० च्याम्पियनसिप खेल्यौं । त्यसैले हाम्रो तयारी राम्रो छ,’ प्रशिक्षक केसीले भने । नेपालले शनिबार भुटानसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
यस्तै नेपालले सोमबार कतारसँग खेल्नेछ । नेपालले बिहीबार बहराइनसँग खेल्दा अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।
भारतलाई हराउँदै नेपाल समूह विजेता, रच्यो इतिहास
नेपालले श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा भारतलाई पराजित गरेको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराएको हो ।
यस जितसँगै साफ यू–१७ मा भारतविरुद्ध नेपालले इतिहास रचेको छ। नेपालले पहिलो पटकको साफ यू–१७ कै संस्करणमा भारतलाई पराजित गर्दै इतिहास रच्न सफल भएको हो। यसअघि यो प्रातियोगिता यू–१६ र १५ को नामबाट सञ्चालन हुँदै आएको थियो। तर, यसपालिदेखि भने प्रतियोगिता साफ यू–१७ को नामबाट सुरु भएको हो।
नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक एक गोल गरे । नेपालले सुरुआती एक गोलको अग्रता उल्टाएर भारतलाई हराएको हो । खेलको २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ४५ औं मिनेटमा सरोज दर्लामीले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याए । दोस्रो हाफमा नेपालले दुई गोल गर्यो । खेलको ४९ औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ६८ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाए । यस जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भारत २ खेलमा ३ अंक जोडेर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले हराएको थियो । भारतले पनि भुटानलाई ३-० ले हराएको थियो । दुबै खेलमा हार व्यहोरेको भुटान बाहिरिसकेको छ । प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुईले सेमिफाइनलमा स्थान बनाउने छन् ।