काठमाडौं।
यूएईमा जारी एसिया कप क्रिकेटको सुपर फोरअन्तर्गत अन्तिम खेलमा पाकिस्तानविरुद्ध श्रीलंका ५ विकेटले विजयी भएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको १ सय २२ रनको लक्ष्य श्रीलंकाले १७ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गरेको हो। श्रीलंकाको यो लगातार चार जित हो।
श्रीलंकाको जितमा पथुम निसंकाले अर्धशतकीय पारी खेले। उनले ४८ बलमा ५ चौका र १ छक्काको मद्दतमा अविजित ५५ रनको योगदान दिए। यस्तै, भानुका राजपाक्षेले २४, कप्तान दासुन शनाकाले २१ र वानिन्दु हसरंगाले नटआउट रन जोडे।
पाकिस्तानका लागि मोहम्मद हसनैन र हरिस रउफले २–२ तथा उस्मान कादिरले १ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय २१ रन बनायो।
उसका लागि कप्तान बाबर आजमले ३०, मोहम्मद नवाजले २६, मोहम्मद रिजवानले १४ तथा फखर जमान र इफ्तिखार अहमदले समान १३–१३ रन बनाए। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बटुल्न सकेनन्।
श्रीलंकाका लागि वानिन्दु हसरंगाले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २१ रन दिँदै महत्वपूर्ण ३ विकेट लिए। यस्तै, महेश थेक्षाना र दिलशान मदुशंका २–२ तथा धनन्जया डी सिल्भार चमिका करुणारत्नेले १–१ विकेट लिए।
श्रीलंकालाई एक विकेट रनआउटको रूपमा प्राप्त भयो। यस जितसँगै स्थानमा रहँदै श्रीलंकाले फाइनल खेल्ने भएको छ। पराजित भएको पाकिस्तानले दोस्रो स्थानमा रहेर फाइनल खेल्नेछ।
यी दुई देशबीचको फाइनल म्याच आइतबार हुनेछ। श्रीलंका र पाकिस्तान बीचको फाइनल खेल पनि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै हुनेछ। म्याच नेपाली समयअनुसरा साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ।