आज भुटानसँग खेल्दै नेपाल, यस्तो छ टिमको रणनीति

काठमाडौं।

बहराइनमा आयोजना हुने एएफसी यू-२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज शनिबार भुटानको सामना गर्दैछ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले भुटानको सामना गर्नेछ । नेपाल र भुटानबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल भुटानलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ । भुटान पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ ।

नेपाली यू-२० राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि टिमको तयारी राम्रो रहेको बताएका छन्। प्रशिक्षक केसीले एसियन कपमा छनोट हुने आशा राखेको समेत बताए ।

प्रशिक्षक केसीले तीन महिनाबाट प्रशिक्षण गरिरहेको कारण प्रतियोगिताका लागि टिम तयार रहेको समेत बताए । नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन्।

यस्तै नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ ।नेपालले बिहीबार बहराइनसँग खेल्दा अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ ।

समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।

यसैबीच भुटानले नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा श्रीलंकालाई ५-० गोल अन्तरले हराउँदै भुटानले पहिलो जित निकालेको हो । महिला साफ इतिहासमा भुटानको यो पहिलो ऐतिहासिक जित समेत हो ।

भुटानले यसअघि महिला साफमा कुनैपनि जित निकालेको थिएन । श्रीलंकाविरुद्ध पहिलो हाफमा एक गोल गरेको भुटानले दोस्रो हाफमा चार गोल थपेको थियो । भुटानको जितमा डेखी लाजोमले दुई गोल गरिन्। न्याम्गेल डेमा, छिरिङ लाडेन र छिरिङ याङदेनले एक-एक गोल गरिन् ।

यस जितसँगै समूह ‘बी’ मा रहेको भुटानले २ खेलमा ३ अंक जोडेको छ। जितपछि भुटानले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।पहिलो खेलमा भुटानले नेपालसँग ४-० गोलको हार व्यहोरेको थियो ।

श्रीलंकाले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । अब श्रीलंकाले नेपालसँग सोमबार खेल्नेछ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

Leave A Reply

Your email address will not be published.