काठमाडौं ।
अष्ट्रेलियाका कप्तान आरोन फिन्चले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । फिन्चले शनिबार एकदिवसीय अन्तराष्ट्रियबाट सन्यास घोषणा गरेका हुन् ।
फिन्चले आइतबार हुने न्युजिल्याण्डविरुद्धको तेस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलपछि सन्यास लिने घोषणा गरेका हुन् । घरेलु मैदानमा हुने न्युजिल्याण्डविरुद्धको खेल फिन्चको १ सय ४६ औं एकदिवसीय अन्तराष्ट्रिय हुनेछ ।
३६ वर्षीय फिन्च टी-ट्वान्टीको भने कप्तान नै रहने छन् । घरेलु मैदानमा आयोजना हुने विश्वकपमा उनले अष्ट्रेलियाको नेतृत्व गर्ने छन् । ओपनर ब्याट्सम्यान फिन्च एकदिवसीयमा अष्ट्रेलियाका लागि सर्वाधिक शतक बनाउने चौंथो खेलाडी हुन् । उनले १७ शतक बनाएका छन् ।
महिला साफ च्याम्पियनसिपमा दुई खेल हुँदै
नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज शनिबार दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा पाकिस्तान र बंगलादेश भिड्ने छन् । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।
पाकिस्तान आज पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा पाकिस्तानले भारतसँग ३-० गोलको हार व्यहोरेको थियो । बंगलादेश भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा बंगलादेशले माल्दिभ्सलाई ३-० ले हराएको थियो।
यस्तै अर्को खेलमा साविक विजेता भारतले माल्दिभ्ससँग खेल्नेछ । यस खेल ५:३० बजे सुरु हुनेछ । भारत लगातार दोस्रो जितको खोजीमा रहेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई हराएको थियो । माल्दिभ्स भने पहिलो जितमा खोजीमा रहेको छ ।
पहिलो खेलमा माल्दिभ्स बंगलादेशसँग पराजित भएको थियो । समूह ‘ए’ मा रहेको भारत र बंगलादेशले समान ३ अंक जोडेको छ । माल्दिभ्स र पाकिस्तान अंक विहीन रहेको छ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।
साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । यस्तै समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।