काठमाडौं।
अष्ट्रेलियन पूर्व क्रिकेटर तथा विश्वकै उत्कृष्ट फास्ट बलर ब्रेट लीले नेपालमा क्रिकेटप्रति प्यासन रहेको बताएका छन् । नेपाल टी-२० लिगको मेन्टर नियुक्त भएका लीले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल आउँदा आफूलाई खुशी लागेको बताए । ‘नेपाल टी-२० लिगको मेन्टर बन्दा खुशी छु । उत्साहित कुरा के हो भने नेपालमा क्रिकेटप्रति प्यासन देखेँ,’ उनले भने, ‘मैले क्रिकेट हेर्न विश्वभर भ्रमण गरेँ । तर नेपालमा प्यासन बढिरहेको छ । यो अझै बढिरहेको छ । नेपालमा युवा क्रिकेटरहरु आइरहेका छन् ।’
नेपाल क्रिकेट संघ क्यानले शुक्रबार सोल्टी होटलमा कार्यक्रम गर्दै ब्रेट लीलाई नेपाल टी-२० लिगको मेन्टर नियुक्त गरेको घोषणा गरेको हो । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल र नेपाल टी-२० लिगको कमर्सियल एण्ड स्ट्राटेजिक पार्टनर सेभेन थ्री स्पोर्ट्सका जतिन अहलुवालियाले संयुक्त रुपमा लीलाई मेन्टरको रुपमा प्रस्तुत गरे ।
४५ वर्षीय लीले यस्तो लिग युवा खेलाडीका लागि राम्रो प्ल्याटफर्म हुने बताए । ‘यो एकदमै राम्रो प्ल्याटफर्म हो । भविष्यमा आउने पुस्ताका लागि यो राम्रो अवसर हो ।’ पहिलो पटक नेपाल आएका उनले नेपालको सत्कारबाट खुसी भएको बताए ।
‘म पहिलो पटक नेपाल आएको हुँ । एक रातको लागि । यहाँको अतिथी सत्कार लगायत सबै मन पर्यो । म एकदमै उत्साहित छु र नेपाली क्रिकेटले अझै प्रगति गरेको हेर्न चाहन्छु ।’ नेपाली क्रिकेटबारे कति जानकार हुनुहुन्छ भन्ने प्रश्नमा लीले नेपाल क्रिकेट खेल्ने देश रहेको भन्दै खेलाडीलाई धेरे एक्सपोजर दिनुपर्ने बताए ।
‘नेपाल क्रिकेट प्लेइङ नेसन, नेपाली क्रिकेटरलाई जति धेरै एक्सपोजर दिन सक्यो उति राम्रो, पुरुषलाई मात्र नभएर महिलालाई पनि क्रिकेट खेल्न प्रेरित गर्नुपर्छ ।’ यस्तै लीले तत्कालका लागि मेन्टर सानो सुरुवातको रुपमा भए पनि पछि यसलाई विस्तार गर्दै अगाडि बढाउने बताए ।
क्यानका कार्यवाहक सचिव मल्लले ब्रेट लीलाई मेन्टरको रुपमा पाउनु ठूलो विषय रहेको बताए । यस्तै सेभेन थ्री स्पोर्ट्सका जतिनले लेजेण्डरी अष्ट्रेलियन क्रिकेटर ब्रेट लीलाई स्वागत गर्न पाउँदा खुशी रहेको बताए । ‘हामी लीलाई स्वागत गर्दा एकदमै खुशी छौँ ।’
मेन्टरले लिगमा संलग्न हुने खेलाडीदेखि प्रशिक्षक सबैलाई मेन्टरसिप प्रदान गर्ने जतिनले बताए । ‘मेन्टरको काम भनेको मेन्टोरिङ गर्नु हो । मेन्टरले लिगमा संलग्न हुने व्यक्तिदेखि प्रशिक्षक, एनालिस्टलाई गाइड गर्छ । अझ विशेष रुपमा मेन्टरले खेलाडीहरुलाई गाइड गर्छ ।’
ब्रेट लीले अनलाइन सेसनमार्फत सबै लाई मेन्टर प्रदान गर्ने जतिनले बताए । सन् १९९९ देखि २०१२ सम्म अष्ट्रेलियाका लागि खेलेका ली पछिल्लो समय कमेन्ट्री लगायत भूमिकामा देखिँदै आएका छन् । उनले अष्ट्रेलियाका लागि ७६ टेष्ट, २२१ ओडीआई र २५ टी-२०आई क्रिकेट खेलेका छन् । लीले टेष्टमा ३१०, ओडीआईमा ३८० र टी-२०आईमा २८ विकेट लिएका छन् ।
उनले ब्याटिङतर्फ टेष्ट र ओडीआईमा अर्धशतक समेत प्रहार गरेका छन् । लीले पछिल्लो पटक सन् २०१४/१५ को बिग बास लिग सिड्नी सिक्सर्सबाट खेलेका थिए । त्यसपछि उनले क्रिकेट करिअरबाट सन्यास लिए । लीले इन्डियन प्रिमियर लिगमा कोलकता नाइट राइडर्स र किंग्स एलेभेन पञ्जाबबाट समेत खेलेका थिए । लीले सन् २००३ मा अष्ट्रेलियाबाट ओडीआई विश्वकप समेत जितेका थिए ।