नेपाल र भुटानबीच यस्तो छ ‘हेड टु हेड’ नतिजा

काठमाडौं।

बहराइनमा आयोजना हुने एएफसी यू-२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज शनिबार भुटानको सामना गर्दैछ। शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले भुटानको सामना गर्नेछ। नेपाल र भुटानबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल भुटानलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ। भुटान पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ। नेपाली यू-२० राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि टिमको तयारी राम्रो रहेको बताएका छन्।

प्रशिक्षक केसीले एसियन कपमा छनोट हुने आशा राखेकोसमेत बताए। प्रशिक्षक केसीले तीन महिनाबाट प्रशिक्षण गरिरहेको कारण प्रतियोगिताका लागि टिम तयार रहेको बताए। नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन्।

यू–२० उमेर समूहमा नेपाल र भुटान पहिलोपटक एकअर्काविरुद्ध खेल्न लागेका हुन्। यसअघि यो प्रतियोगिता एएफसी युथ च्याम्पियनसिप यू–१९ तथा एएफसी यू–१९ च्याम्पियनसिपको रूपमा संचालन हुन्थ्यो।

त्यो बेला भने नेपालले एक खेल मात्रै भुटानसँग खेलेको थियो। सन् २००० मा एएफसी युथ च्याम्पियनसिप छनोटअन्तर्गतको म्याचमा नेपालले भुटानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो।

नवौं राष्ट्रिय खेलकुद : प्रदेश १ र एपीएफबीचको खेल रद्द

नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश-१ र एपीएफ क्लबबीचको खेल रद्द भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा शनिबार वर्षाको कारण मैदान खेल्न योग्य नभएपछि प्रदेश-१ र एपीएफबीचको खेल रद्द भएको हो । दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो ।

खेल रद्द भएसँगै प्रदेश-१ र एपीएफले एक एक अंक पाएका छन् । समूह ‘बी’ मा रहेको एपीएफले २ खेलमा २ अंक जोडेको छ । एपीएफ तेस्रो स्थानमा रहेको छ । प्रदेश १ ले २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

टियुमै आज हुने दोस्रो खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने तालिका छ । यस खेल दिउँसो १:१५ बजे सुरु हुनेछ । यस्तै मुलपानी मैदानमा हुने खेलमा मधेश प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । यस खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो । प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.