काठमाडौं।
बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल नजिक पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा पाकिस्तानलाई ६-० गोलको फराकिलो अन्तरले हराउँदै बंगलादेश अन्तिम चारको नजिक पुगेको हो ।
बंगलादेशको फराकिलो जितमा कप्तान सबिना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल गरिन् । खेलको तेस्रो मिनेटमा मोनिकाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।
२८ औं मिनेटमा शोप्नाले गोल गर्दा बंगलादेश २-० ले अघि रह्यो । खेलको ३१ औं मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता तेब्बर बनाईन । लगत्तै ३५ औं मिनेटमा सबिनाले व्यक्तिगत दोस्रो गोल गर्दा बंगलादेश ४-० ले अघि रह्यो ।
खेलको ५९ औं मिनेटमा सबिनाले ह्याट्रिक पूरा गर्दै बंगलादेशलाई ५-० को अग्रता दिलाईन् । सबिना जारी महिला साफमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । उनी सर्वाधिक गोल गर्ने सूचीको शीर्ष स्थानमा छिन् । सबिनाले ५ गोल गरिसकेकी छिन् ।
त्यसपछि खेलको ७७ औं मिनेटमा रितुले गोल गर्दै बंगलादेशलाई ६-० को जित दिलाईन् । बंगलादेशको यो लगातार दोस्रो जित हो । पाकिस्तानको भने यो लगातार दोस्रो हार हो । यस जितसँगै समूह ‘ए’ को बंगलादेशले २ खेलमा ६ अंक जोडेको छ ।
बंगलादेश शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा बंगलादेशले माल्दिभ्सलाई ३-० ले हराएको थियो। पाकिस्तान २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ । पहिलो खेलमा पाकिस्तानले भारतसँग ३-० गोलको हार व्यहोरेको थियो ।
प्रतियोगिता अन्तर्गत नै आज हुने दोस्रो खेलमा साविक विजेता भारतले माल्दिभ्ससँग खेल्नेछ । यस खेल ५:३० बजे सुरु हुनेछ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।